कोशी । सर्पले डसेर मोरङमा एक जना बालकको मृत्यु भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा घरभित्रै ओछ्यानमा सुतिरहेका ११ वर्षीय प्रान्जल राउतको मृत्यु भएको हो।
मंगलबार राति ११:५५ बजेतिर सर्पले डसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनका अनुसार गम्भीर घाइते अवस्थाका बालकलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो।
उपचारकै क्रममा बुधबार बिहानका राति १:३० बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी बस्नेतले दिए। उनका अनुसार बालकलाई कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन छैन। तर, उपचारमा संलग्न चिकित्सकले पनि सर्पकै टोकाइबाट मृत्यु भएको जानकारी दिएको उनले बताए। बालकको टाउकोमा सर्पले टोकेको चोट रहेको उनको भनाइ छ।
मृतक बालकको शव अभिभावकले बुझेर लगेका छन्। डीएसपी बस्नेतले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए। उनले गर्मीका समयमा सर्पको बिगबिगी बढेका कारण सावधानी अपनाउनुपर्ने पनि बताए।