सुर्खेत । उच्च अदालत सुर्खेतमा अनुमान गरिएभन्दा धेरै उजुरी दर्ता भएका छन् । चालु आर्थिक वर्षमा अनुमान गरिएका उजुरीहरु मध्ये यो अवधिमै दर्ता मुद्दाको विवरण अनुमान भन्दा बढी भएको हो ।
उच्च अदालतले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्याङ्क अनुसार कुल ८४९ मुद्दा दर्ता भएका छन् । तीमध्ये १६० जिम्मेवारी तर्फ र ६८९ नयाँ मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्धा मध्ये ५१८ फछ्र्यौट भईसकेका छन् । जुन वार्षिक फछ्र्यौट लक्ष्यका आधारमा ७८.८४ प्रतिशत रहेको उच्च अदालतका प्रशासन शाखाका अधिकृत खेमराज तिमिल्सिनाले जानकारी दिए । चालु आर्थिक वर्षमा ७४४ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो ।
अदालतमा दर्ता भएका मुद्दाको प्रकृति अनुसार जवरजस्ती करणी र ज्यान सम्बन्धी मुद्दाको तथ्याङ्कलाई हेर्दा सामाजिक मनोविज्ञानमा प्रभाव पारिरहेको बरिष्ठ न्यायाधीश कृष्णलाल भट्टराईले बताउनुभयो । तथ्याङ्क अनुसार दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै जबरजस्ती करणी सम्बन्धी १६४ मुद्दा रहेका छन् । ज्यान सम्बन्धी ११३ मुद्दा, लागुऔषध सम्बन्धी ५१ मुद्दा, विवाह सम्बन्धी ४७ र सम्बन्ध विच्छेद सम्बन्धी १६ मुद्दा दर्ता भएका छन् ।
उच्च अदालत सुर्खेतले सार्वजनिक सरोकारका विषयमा ८५ मुद्दा दर्ता भएकोमा ५२ मुद्दा फछ्र्यौट गरिसकेको जनाइएको छ ।
गत वर्ष कति थिए मुद्दा ?
चालु आर्थिक वर्षको बैशाख ३० गतेसम्म उच्च अदालत सुर्खेतले ८४९ मुद्दा दर्ता गरी ५१८ मुद्दा फछ्र्यौट गरिसकेको छ । तर, गत आर्थिक वर्ष २०७९।८० मा भने ९२२ मुद्दामध्ये ७६२ को फछ्र्यौट गरेको थियो ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८।७९ मा ९५८ उजुरीमध्ये ७१२ फछ्र्यौट भए भने आर्थिक वर्ष २०७७।७८ मा ७३३ उजुरीमध्ये ४६८ फछ्र्यौट भएका थिए ।
विगतका वर्षहरुको तथ्याङ्कलाई केलाउँदा वर्षेनी मुद्दाको सङ्ख्या र फछ्र्यौट प्रतिशत बढिरहेको छ । चालु आर्थिक वर्षमा मुद्दाको सङ्ख्या अनुमान भन्दा बढी भईसकेको देखिन्छ ।