सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–८ घर भई हाल वीरेन्द्रनगर–४ एरीचोक बस्दै आएका वर्ष ३१ का राज खान र बाँके खजुरा गाउँपालिका–४ घर भई हाल वीरेन्द्रनगर–४ बस्ने वर्ष २१ का कलिङ खान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर–४ ऐरीचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी एवम् प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । उनीहरुले एरीचोकमा पान पसल सञ्चालन गर्दै आएका थिए ।
एसपी खड्काकाअनुसार उनीहरुको शरिर खानतलासी गर्दा शुद्ध २ ग्राम ३ सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेलापारी बरामद गरिएको छ । हाल दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याएर अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
सुर्खेत प्रहरीले शुक्रवार महाशिवरात्री पर्व भएकाले लागुऔषधविरुद्ध विशेष अभियान नै थालेको उपरीक्षक खड्काको भनाइ छ । उनले भने, ‘भोलि शिवरात्री पर्व भएकाले हामीले लागुऔषधविरुद्ध विशेष अभियान नै थालेका छौँ, हाम्रो टोली साधा पोसाकमा निरन्तर खटिरहेको छ ।