काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको छ । यो निर्णयप्रति भने व्यवसायीहरुले असन्तुष्टी व्यक्त गरेका छन् । उनिहरुले सटर बन्द गरेर सडकमा विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार बिहानदेखि काठमाडौं महानगरपालिकाले न्युरोडको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेको छ ।
महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको हो।
व्यवसायीद्वारा विरोध
महानगरपालिकाको उक्त निर्णयको विरोध व्यवसायीहरुले गरेका छन् । सरोकारवालाहरुसँग समन्वय बिना पार्किङ निषेध गर्दा न्युरोड क्षेत्रमा कुनैपनि ग्राहक नआउने उनिहरुको भनाई छ ।
उनीहरुले कोरोना महामारी लगायतका विभिन्न कारणबाट शिथिल बनेर युवा व्यवसायीहरु विदेश पलायन भएको अवस्थालाई थप प्रोत्साहन हुने गरी पार्किङ निषेध गरिएको व्यवापारीहरुको गुनासो छ।
न्युरोड १० हजार भन्दा बढी रोजगार जोडिएको क्षेत्र रहको भन्दै युवाहरु मेयरको विरुद्धमा उत्रिने चेतावनी दिएका छन्। उनले बुधवारदेखि २२,२३ र २४ नम्बरका सबै व्यवसायीहरुले पूर्ण रुपमा सटर बन्द गरेर नगरपालिकालाई चाबी बुझाउने बताएका छन्।
काठमाडौं टावरमा विकल्प
न्युरोड जाने सवारी धनीलाई काठमाडौं टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगरले जनाएको छ ।
काठमाडौं टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगरले जनाएको छ।
तर, व्यवसायीहरु त्यो पार्किङ उपयुक्त नभएको बताएका छन्।