काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबार पनि आंशिक बदलीको सम्भावना रहेको छ । पहाडी एक–दुई स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ ।
देशका अधिकांश स्थानमा बादल लाग्ने भएकाले चिसो अझ बढ्ने महाशाखाले जनाएको छ । अहिले तराईमा हुस्सु तथा कुहिरो लागेकाले चिसो जारी रहेको महाशाखाले जनाएको छ ।