जाजरकोट। जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार ३३६ घर ९अस्याथी आवास० निर्माण सम्पन्न भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अन्य १० हजार ११८ घर निर्माणाधीन छन्। अहिले धमाधम अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। उनका अनुसार जाजरकोटमा पाँच हजार २०२, रुकुम पश्चिममा पाँच हजार ७९८, सल्यानमा १९३, बझाङमा १३ र बाजुरामा १३० घर निर्माण सम्पन्न भइसकेका छन्।
पोखरेलले आजसम्म केन्द्रबाट अस्थायी आवासका लागि दुई अर्ब २६ करोड रकम जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइसकिएको जानकारी दिए। त्यसमध्ये जिल्लाबाट स्थानीय तहमा एक अर्ब ५३ करोड रुपैयाँ पुगिसकेको छ। स्थानीय तहबाट प्रक्रिया पुगेका लाभग्राहीको खातामा भने ५८ करोड ७८ लाख रकम पठाइसकिएको उनले बताए। अहिलेसम्म जाजरकोटमा ३५ हजार १४०, रुकुम पश्चिममा २३ हजार ६०८, सल्यानमा एक हजार ७३०, बझाङमा चार हजार ५७६ र बाजुरामा दुई हजार ७२९ गरी कुल ६७ हजार ७८३ लाभग्राही कायम भएका छन्।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पले जाजरकोटसहित रुकुम पश्चिम, सल्यान, बझाङ, बाजुरामा क्षति पुर्याएको थियो।