रुकुम पश्चिम । नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का पूर्व अध्यक्ष भोला आचार्यले भूकम्प पीडित परिवारलाई एक लाख रुपियाँ सहयोग गरेका छन् ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ लामिछानेगाउँ घर भई हाल अमेरिकामा रहेका पत्रकार आचार्यले आफ्नो जन्मगाउँ निवासी जनक लामिछाने र देवेन्द्र कामीको परिवारलाई सहयोग उपलब्ध गराएका हुन् ।
आचार्यले व्यक्तिगत रुपमा उक्त रकम सहयोग गरेका हुन् । लामिछाने र कामीको घर गत कात्तिक १७ गतेको भूकम्पको कारण पूर्ण रुपमा क्षति भएका छन् ।
गाउँमा परेको विपद्को बेला प्रत्यक्ष रुपमा उपस्थित भएर साथ दिन नसकिएतापनि प्रदेशबाट व्यक्तिगत रुपमा उक्त रकम सहयोग गरेको आचार्यले बताए । उक्त रकमले तत्कालको लागि अप्ठ्यारोमा परेको दुई परिवारलाई राहत महशुस हुने विश्वास लिएको आचार्यले जनाए । भूकम्पले घर भत्काएपछि दुबै परिवार टेन्टमूनि बस्दै आएका छन् ।
आचार्यले पीडित दुई परिवारका लागि पठाएको उक्त रकम गाउँका जेष्ठ नागरिक तथा अगुवा भक्त बहादुर भाटले दुबै परिवारलाई हस्तान्तरण गरेका छन् ।
भाटले गाउँ भन्दा पर रहेर पनि गाउँका आफन्तजन तथा दाजुभाईको दुःखमा सहयोग गरेको भन्दै आचार्यलाई धन्यबाद व्यक्त गरे । बिनाशकारी भूकम्पले पीडा दिएको बेला मन ठुलो बनाएर आचार्यले गाउँमा सहयोग गरेको भाटको भनाई छ ।
पीडित परिवारहरुले पनि मनकारी आचार्यप्रति आभार प्रकट गरेका छन् । पत्रकार आचार्य लामो समय नेपालमा पत्रकारिता गर्दै आएका छन् । अमेरिकामा रहँदा पनि पत्रकारिता र समाजसेवाको कामलाई उनले निरन्तरता दिदै आएका छन् ।