सुर्खेत। रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिका –८ सोती गाउँमा भएकाे हत्या घटनामा संलग्न २४ जनालाइ जन्मकैदकाे फैसला गरिएकाे छ। अन्तरजातीय प्रेमसम्बन्धकाे विषयलाई लिएर नवराज विकसहित ६ जनाकाे हत्यामा संलग्न व्यक्तिहरूलाई जिल्ला अदालत रूकुम पश्चिमले आज फैसला गरेकाे हाे।
साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो । आइतबारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु भएकोमा मंगलबार अन्तिम आदेश आएको हो । २४ जनालाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार जरिवानाको पनि फैसला भएको छ ।
जन्मकैद सजाय पाउनेमध्येमा चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजु लगायत रहेका छन्।
यस्तै, नवराजकी प्रेमिका, उनका भाइ र आमालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनीहरूलाई यसअघि साधारण तारेखमा छोडिएको थियो।
६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएको थियो । ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियारको अभियोग लागेको थियो ।