काठमाडौँ । युक्रेन–रुस युद्धमा परी चार नेपालीले ज्यान गुमाएका छन् । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् । उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए ।
दूतावासले रोक्का, मोक्तान र कार्कीको गत कात्तिक २९ मा युक्रेनको भूमिमा मृत्यु भएको जानकारी दिँदै मारिने तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रबार काठमाडौं त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको हो । थपलिया भने असार २९ मा नै युक्रेनको बाखमुतमा मारिएका थिए । यसबाहेक पनि थप नेपाली युद्धमा परेको हुन सक्ने आशंका गरिएको छ ।
रुसी सेनामा भर्ती हुने नेपालीको यकिन विवरण नराखेको नेपाल सरकारले यसबारे रुसी सरकारसँग कुराकानी भइरहेको बताएको छ । थपलिया एक वर्षअघि रुसी सेनामा भर्ती भई गत जेठमा युद्धका लागि युक्रेन पठाइएका थिए । त्यसको एक महिनालगत्तै उनी मारिएको खबर परिवारले पाएका थिए । रुसले थपलियाको शव भने नेपाल पठाउन नमिल्ने भन्दै असार २९ मा रुसको इभानोभोको नाभो–तालिस्टीस्थित चिहानमा समाधिस्थ गरिदिएको थियो ।