काठमाडौँ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स यूएई बाट जितका लागि एक सय ४१ रनको लक्ष्य पाएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनायो ।
खेलको प्रारम्भमै चार विकेट गुमाएको यूएईले त्यसपछि भने आक्रमक ब्याटिङ गरेको थियो । यूएईका लागि पाँचौँ र छैठौँ नम्बरका ब्याट्सम्यानले ५६ रनको साझेदारी गरे । यूएईका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान अली नासिरले ३२ रनको योगदान गरे । छैठौँ नम्बरका क्रिज समाल्न आएका बासिल हमिदले अर्धसत बनाए । उनले आक्रामक पाली खेल्दै केवल ३८ बलको सामना गरी चार छक्का र एक चौकाको मद्दतले ५१ रन बनाए । यूएईले अतिरिक्त रुपमा १३ रन पाएको थियो ।
नेपाली टोलीका बलर करण केसीले तीन विकेट लिए । उनले चार ओभरमा केवल १९ रन खर्चिएका थिए । गुल्सन झाले पनि दुई विकेट हात पारे । उनले तीन ओभरमा ११ रन खर्चिए । सोमपाल कामी र अविनाष बोहराले एक—एक विकेट लिए । सोमपाल कामीले यूएईका ओपनर ब्याट्सम्यान खालिद शाहलाई पहिलो विकेटका रुपमा शून्य रनमै पेभेलियन फर्काएका थिए । सोमपालले खालिदलाई आफ्ना कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । यूएईले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको थियो ।
यूएईको दोस्रो विकेट करण केसीले लिएका थिए । उनले यूएईका तेस्रो नम्बरका ब्याट्सम्यान एलिसन सराफुलाई ६ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । करणले उनलाई आसिफ शेखद्वारा क्याच गराएका हुन् । यूएईले दोस्रो विकेट ३।१ ओभरमा गुमाएको थियो ।
यसैगरी यूएईको तेस्रो विकेट नेपाली बलर गुल्सन झाले लिएका थिए । गुल्सनले यूएईका कप्तान मुहम्मद वसिमलाई १७ रनको ब्यक्तिग स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । ६।१ ओभरमा ओपनर ब्याट्सम्यान वसिम आउट हुँदा यूएईले ३२ रन बनाएको थियो ।
यूएईको चौथो विकेट नेपाली बलर गुल्सन झाले लिएका थिए । गुल्सनले यूएईका आसिफ खानलाई १५ रनको ब्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराएका हुन् । आसिफले १२ बलमा दुई चौका हिर्काएका थिए । गुल्सनले लिएको यो दोस्रो विकेट थियो । ८।४ ओभरमा चौथो विकेट गुमाउँदा यूएईले ५२ रन बनाएको थियो ।
यसैगरी यूएईको पाँचौँ विकेट करण केसीले लिएका थिए । उनले क्रिजमा जमिसकेका यूएईका ब्याट्सम्यान अली नासिरलाई ३२ रनको ब्यक्तिगत स्कोरमा आउट गराएका थिए । उनले नासिरलाई कप्तान रोहितद्वारा क्याच गराएका थिए । नासिरले ३० बलमा एक छक्का र तीन चौका हिर्काए ।
यसैगरी यूएईको छैठौँ विकेट पनि करण केसीले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान मोहम्मद फराजुद्दिनलाई शून्य रनमै पेभेलियन फर्काएका थिए । फराजुद्दिनलाई उनले आिसफ शेखद्वारा क्याच गराएका थिए ।
यूएईको सातौँ विकेट भने अविनाष बोहराले लिएका हुन् । उनले यूएईका बासिल हमिदलाई ५१ रनमा आउट गराए । हमिदको क्याच पनि आशिफ शेखले लिए । हमिदले ३८ बलमा चार छक्का र एक चौका हिर्काएका थिए ।
नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो । त्रिकोणात्क शृंखलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ । निकट भविष्यमा हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो ।