काठमाडौ । सरकारले दसैंका लागि सोमबारदेखि सार्वजनिक सवारी साधनको टिकट अग्रिम बुकिङ खुलाइसकेको छ। पेट्रोलियम पदार्थको मूल्य बढिरहेसँगै हरेक वर्ष सार्वजनिक सवारीको भाडा पनि बढ्ने गरेको छ।
यातायात व्यवस्था विभागले गत साउन १ गतेबाट लागु हुने गरी छोटो, मध्यम र लामो दूरीका अन्तर प्रदेश रूटहरूमा सार्वजनिक यातायातको भाडादर तोकेको छ। सोही भाडादरअनुसार नै यात्रुले दसैंका लागि टिकट लिन सक्नेछन्।
यसपालि दसैंमा सार्वजनिक यातायातमार्फत् यात्रा गर्दा कति भाडा लाग्ला?
सार्वजनिक यातायातमा यात्रा गर्नेहरूका लागि यातायात व्यवस्था विभागले भाडादर निर्धारण गरेको छ। विभागले पछिल्लो पटक सार्वजनिक गरेको सार्वजनिक यातायातको भाडादरअनुसार साधारण, डिलक्स र सुपर डिलक्सका लागि फरक भाडादर रहेको छ।
जसअनुसार काठमाडौं–धनगढीको भाडा एक हजार ९४६ देखि दुई हजार ८०३ रुपैयाँ तोकिएको छ। त्यस्तै काठमाडौं–इलामको भाडा एक हजार ९८६ देखि दुई हजार ८६०, काठमाडौं–जनकपुर एक हजार ८४ देखि एक हजार ५६० रुपैयाँ रहेको छ।
काठमाडौं–दाङ एक हजार २४६ देखि एक हजार ७९४ रूपैयाँ, काठमाडौं–नेपालगञ्ज एक हजार ५१० देखि दुई हजार १७४ रूपैयाँ, काठमाडौं–पोखरा ६ सय ३१ देखि ९ सय ९ रूपैयाँ, काठमाडौं–भैरहवाको ८२६ देखि एक हजार १९० रूपैयाँ रहेको छ।
काठमाडौं–विराटनगर एक हजार ५३६ देखि दुई हजार २१२ रूपैयाँ, काठमाडौं–भद्रपुर एक हजार ७२५ देखि दुई हजार ४८५, काठमाडौं–महेन्द्रनगर एक हजार ९६२ देखि दुई हजार ८२५ रूपैयाँ रहेको छ।
काठमाडौं–खुर्कोट हुँदै भद्रपुरका लागि एक हजार ५६६ देखि दुई हजार २५५ रूपैयाँ रहेको छ । काठमाडौंदेखि गुल्मीको तम्घाससम्मको भाडा एक हजार २३८ देखि एक हजार ७८२ रुपैयाँ, यस्तै काठमाडौं–सुर्खेत एक हजार ७८३ देखि दुई हजार ५६८ रूपैयाँ तोकिएको छ।