सुर्खेत । कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले सरकारका तर्फबाट मुख्यमन्त्री राजकुमार शर्माको जवाफ मागेका छन् । उनले अब सञ्चालन हुने सभाको पहिलो बैठकमै मुख्यमन्त्रीले जवाफमात्र नभई समस्या समाधानको योजना सहित प्रस्तुत हुनुपर्ने बताए ।
नेता कँडेलले बाढी, पहिरो, डुबान र हवाई सेवा सम्बन्धी समस्या समाधानको योजना सहित सभामा प्रस्तुत हुनुपर्ने माग राखे ।
अब हुने पहिलो बैठकमा माग बमोजिम मुख्यमन्त्री शर्मा सभामा प्रस्तुत नभए प्रतिपक्षी दलले संसदमा विरोध जनाउने समेत संकेत गरे ।
अविरल वर्षातका कारण विभिन्न क्षेत्रमा बाढी पहिरो र डुबान भईरहेको छ । त्यस सम्बन्धमा सरकारले विशेष योजना बनाउनुपर्ने उनको तर्क थियो ।
साथै, नागरिक उडड्यन प्राधिकरणले हवाई सेवा उडान सम्बन्धी नयाँ मापदण्ड तोकिदिएपछि कर्णालीको अधिकांश स्थानमा हवाई सेवा अवरुद्द भएको छ । त्यस विषयमा ठोस योजना प्रस्तुत हुन नेता कँडेलले माग गरे ।
यस्तै, हवाई सेवाका विषयमा सांसद विजया बुढाले पनि सरकारको ध्यानकर्षण गराईन् । उनले संसद बैठक सुरु भएलगत्तै विशेष समय लिई सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
संसद बैठक मंगलबार ३ बजेसम्मका लागि स्थगित भएकाे छ ।