सुर्खेत। शे-फाेक्सुण्डाे ताल छेउमा अस्थायी प्रहरी पाेष्ट स्थापना गरिएकाे छ । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो गाउँमा अवस्थित उक्त तालमा अपराधिक क्रियाकलाप नहाेस् भन्ने उद्देश्यले प्रहरी पाेष्ट स्थापना गरिएकाे हाे ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले अस्थायी प्रहरी पोष्टको स्थापना गरेका छन् । अस्थायी रूपमा स्थापना गरिएकाे प्रहरी पाेष्टलाइ साधनस्राेत बनाइ स्थायी बनाइने उनले बताए । आन्तरिक तथा विदेशी पर्यटकको आगमन भइरहने हुँदा आपराधिक क्रियाकलाप हुन नपाओस् भनेर प्रहरी पोष्टको स्थापना गरिएको ढकालले बताए ।
त्यसैगरी पछिल्लो समय शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन वृद्धि भइरहेकाले पर्यटकलाई सुरक्षा प्रदान गर्न तथा ‘सुरक्षित शे–फोक्सुण्डोे सुरक्षित पर्यटक’ भन्ने अवधारणाअनुरूप छिट्टै शे–फोक्सुण्डोमा पर्यटक प्रहरी युनिटकोसमेत स्थापना गरिने प्रहरी नायब महानिरीक्षक ढकालले जानकारी दिए ।
शे–फोक्सुण्डो ताल हेर्न जानेको दैनिक भीड लाग्ने गरेको छ । चिसो मौसममा उपल्लो डोल्पाका सात प्रहरीचौकी सदरमुकाम दुनै सार्ने गरिन्छ । आवश्यक व्यवस्थापन नहुँदा प्रहरीचौकी दुनै सारिँदै आइएको छ ।