काठमाडौं । प्रतिष्ठित मानिएका बैङ्क, उद्योग र अस्पतालमा तालिमी र प्रशिक्षार्थी भन्दै ठूला संख्यामा श्रमिक लिएर महिनौँसम्म श्रम शोषण गरेको पाइएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले गरेको सार्वजनिक प्रतिवेदनमा यस्तो पाइएको हो ।
नेपालमा उद्योग प्रतिष्ठानमा तालिमी र प्रशिक्षार्थी श्रमिक राख्ने क्रम भने बढ्दै गएको तथ्य सार्वजनिक गरेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले गरेको श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थाबारेको श्रम अडिट प्रतिवेदन २०७९ ले तालिमी र प्रशिक्षार्थी श्रमिकको संख्या २० प्रतिशत भएको तथ्य सार्वजनिक गरेको हो ।
प्रतिवेदनका अनुसार उद्योग प्रतिष्ठानमा १९.१५ प्रतिशत तालिमी श्रमिक र २.१५ प्रतिशत प्रशिक्षार्थी श्रमिक राखिएको छ । उपत्यकामा सञ्चालित विभिन्न उद्योग प्रतिष्ठानमा काम गर्ने १४५ जना श्रमिकबिच अध्ययन गर्दा यस्तो पाइएको हो ।
प्रतिवेदनमा २०७५ को तुुलनामा २०७९ मा उद्योग प्रतिष्ठानमा काम गर्ने तालिमी र प्रशिक्षार्थी श्रमिक संख्या बढेको जनाइएको छ । २०७५ मा उद्योग प्रतिष्ठानमा काम गर्ने तालिमी र प्रशिक्षार्थी श्रमिकको संख्या नगण्य मात्रामा भएकामा हाल बढेर २० प्रतिशत पुुगेको प्रतिवेदनमा उल्लेख छ ।
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले साना उद्योग प्रतिष्ठानमा भन्दा ठूलामा प्रतिष्ठानमा छ महिना एक वर्षसम्म तालिमी र प्रशिक्षार्थीका नाममा श्रम शोषण भएको बताए । उनले यो व्रmम पछिल्लो पटक झन् बढेको छ, जुुन श्रम ऐनविपरीत हो तर यस विषयमा राज्यको नियमनकारी निकाय मौन भएको जनाए ।
प्रतिवेदन अनुसार तालिमी तथा प्रशिक्षार्थी श्रमिकलाई श्रमिकको वर्गीकरणमा भने समावेश गरिएको छैन । तालिमी र प्रशिक्षार्थी श्रमिकको अधिक प्रयोग गरी श्रम शोषणको नयाँ रूप विकास हुँदै गएको तथ्यले देखाउँछ ।
श्रम ऐनविपरीत श्रम शोषण गर्ने उद्योग प्रतिष्ठानको अनुुगमन तथा नियमन गरेर कारबाही गर्ने जिम्मेवार निकाय श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग हो ।
तालिमी र प्रशिक्षार्थीका नाममा छ महिनादेखि वर्ष दिनसम्म बिनापारिश्रमिक काम लगाउनुु श्रम ऐन, २०७४ विपरीत हुन्छ । पछिल्लो पटक केही निजी बैङ्क र अस्पतालमा तालिमी र प्रशिक्षार्थीका रूपमा कर्मचारी राखेर वर्ष दिनसम्म बिनापारिश्रमिक काम लगाएको भनिए पनि उजुरी अहिलेसम्म नआएको, कारबाही नभएको जनाइएको छ ।