बाँके । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको संगठन सुदृढिकरणमा ध्यान दिनुपर्ने बताएका छन् । आज आयोजित कांग्रेस बाँकेको खजुरा गाउँपालिकास्तरीय वार्षिक सम्मेलनको उद्घाटन सत्रमा बोल्दै सहमहामन्त्री राठौरले कांग्रेसको विचार र सिद्धान्त तल्लो तहसम्म पु¥याउनु पर्ने बताए ।
उनले कांग्रेसको नीति र सिद्धान्त सही भए पनि तद्अनुरुप व्यवहार हुन नसकेको बहस भैरहेकोले नेता कार्यकर्ता गम्भीर हुनुपर्ने बताए । राजनीति जनताको हित र भलाईका लागि गरिनु पर्ने भए पनि पछिल्लो समयमा स्वार्थप्रेरित हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।
सहमहामन्त्री राठौरले स्थापित दलहरुसंग जनता टाढिएका कारण स्वतन्त्रका नाममा विचारविहीनहरुले राजनीतिमा हस्तक्षेप गर्न थालेको बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य आशा विक, प्रदेश सभा सदस्य बादशाह कुर्मी, नेपाली काँग्रेस बाँकेका सभापति नारायण गौडेलले पार्टीका तर्फबाट जनपक्षीय कामहरु गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा संगठन सुदृढिकरणमा योगदान गरेको भन्दै नेपाली काँग्रेस बाँकेका पूर्व सभापति कृष्णमान श्रेष्ठसहित ७ जना नेताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा हरिप्रसाद ढुंगाना,रामबहादुर थापा,धनबहादुर आचार्य,नवराज थापा, खलिल खाँ र रामबहादुर गुरुङ्ग छन् ।
कार्यक्रम खजुरा पालिका सभापति रमेश सिंजालीको सभापतित्वमा सम्पन्न भएको थियो ।