सुर्खेत। नेपाल सरकारका पूर्वमन्त्री एव्म सुर्खेत–२ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार ह्दयराम थानीले आफुले गरेका कामको मुल्यांकन गरी मत दिन मतदातालाई आग्रह गरेका छन्।
शुक्रबार वीरेन्द्रनगरमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै थानीले यस अघिल्ला निर्वाचनमा आफु विजय हुँदा गरेका कामलाई मुल्यांकन गर्न आग्रह गरेका हुन्।
‘अरुले जनतामाझ कुरा र भाषणमात्रै राख्छन्। यस अघिल्ला निर्वाचनहरुमा हामीले जनतालाई दिएको वचन र पूरा गरेको प्रतिवद्धतालाई पनि मुल्यांकन गरि मत दिन आग्रह गर्दछु।’ उम्मेदवार थानीले भने । वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउन गठबन्धनका उम्मेदवारले विशेष जोड दिने बताए।
‘२०२९ सालमा स्थापना भएको वीरेन्द्रनगर नगरपालिका यसबाट कयौंको पदोन्नती मात्रै भयो तर, यसबाट जनताले प्रतिफल प्राप्त गर्न सकेनन्।’ थानीले भने, ‘अब परिस्थिति अनुसारका आवश्यक पूर्वाधार निर्माण गरी उपमहानगरपालिका बनाईनुपर्छ। त्यसका लागि गठबन्धनका उम्मेदवारहरु नीतिगत तथा पूर्वाधार निर्माणमा लाग्ने प्रतिवद्धता जाहेर गर्दछौं।’
वीरेन्द्रनगरमा खट्किदै आएको खानेपानी समस्या समाधानका लागि तुरुन्तै दीर्घकालीन परियोजना सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाए। ‘२०७० मा निर्वाचित हुँदा खानेपानी समस्या समाधानका लागि भेरी लिफ्ट खानेपानी योजना सुरुआत गरिएको थियो। तर, कम्युनिष्ट सरकारले डिपिआरमै पाँच वर्ष समय खर्चिएको छ। यसलाई तुरुन्तै समाधान गर्न जरुरी देखिएको छ।’ थानीले भने । सुर्खेतमा १३२ केभिए विद्युत प्रसारण लाईन, सडक स्तरोन्नती लगायतका थुप्रै योजनाहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।
यसैगरी, कोणसभालाई सम्बोधन गर्दै प्रदेश तर्फका उम्मेदवार कालीप्रसाद शाक्यले वीरेन्द्रनगर नगरपालिकाको स्वरुप परिवर्तन गर्न विशेष भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए।
‘नगरपालिका व्यवस्थित हुन सकिरहेको छैन। आवश्यक पूर्वाधार निर्माण गरी यसलाई सुविधा सम्पन्न सुन्दर शहरका रुपमा निर्माण गर्न विशेष जोड हुनेछ’ शाक्यले भने।
कोणसभा कार्यक्रममा, वीरेन्द्रनगरस्थित लोकतान्त्रिक वाम गठबन्धनका नेता कार्यकर्ताका साथै मतदाताहरुको सहभागिता रहेको थियो।