सुर्खेत । हाल अमेरिकामा रहेर नेपाली समाजिक कार्यमा सक्रिय समाजसेवी जयन्ती थापाले आफ्नी छोरीको जन्मोत्सवमा अक्षयकोष वृद्धि गरेकी छन्। थापाले वीरेन्द्रनगरको पदमपुरस्थित जनजागृत आधारभूत विद्यालयमा ‘धर्म–पार्वती’ नामक अक्षयकोष स्थापना गरेकी छन्। एक लाख राशीमा स्थापना भएको उक्त कोषमा थापाकी छोरी सुजन चन्दको शुक्रबार २२ औं जन्मदिनको अवसरमा २५ हजार रुपैयाँ थप गरेकी हुन्।
परवारका सदस्यहरुको जनमदिनको अवसरमा समाजसेवा गर्ने भावनाका साथ यसपटक अक्षयकोषका लागि रकम थप गरिएको बताईन्।
सो अक्षयकोषबाट विद्यालयमा अध्ययनरत असहाय बालबालिकाको पढाई–लेखाईमा सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक ज्ञानु शर्मा गैरेले बताइन् । ‘हाम्रो विद्यालयमा जयन्तीको सहयोगबाट असहाय बालबालिकाहरुले पढ्न पाएका छन् भने अन्य भौतिक सामग्रीहरु समेत उपलब्ध हुँदै आएको छ।’ प्रधानाध्यापक गैरेले भनिन्, ‘कहिले विद्यार्थीलाई शैक्षिक सामग्री त कहिले विद्यालयलाई भौतिक सामग्रीका साथ अक्षयकोषको समेत स्थापना गरेर जयन्तीले शिक्षाका क्षेत्रमा उदाहरणीय कार्य गरेकी छन् ।’
जयन्ती अमेरिकामा रहेकाले उनका आमा पार्वती थापा र बुवा धर्मजंग थापाको हातबाट अक्षयकोष बृद्धि वापतको रकम विद्यालयलाई हस्तान्तरण गरिएको थियो।
थापाले, केही दिन अगाडि मात्र डोटीमा केन्द्रविन्दु् बनाएर गएको भुकम्प पीडितहरुका लागि तत्काल राहत होस् भन्ने उद्देश्यले १५ हजार २ सय २६ नगद सहयोग गरेकी थिइन् ।
समाजमा भएका प्राकृतिक विपत्तिबाट पीडितहरुका साथै असहाय बालबालिका र शिक्षा तथा स्वास्थ्यसँगै कला साहित्यको क्षेत्रमा समेत जयन्तीले सहयोग गर्दै आइरहेकी छन् ।