कर्णाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दबाब दिन पैदल यात्रा गर्ने भएको छ। आयोाजनाहरु अलपत्र पारिएको भन्दै निर्माण पूरा गराउन दबाब दिन लागेको हो ।
यही माघ २१ गते दबाब यात्रालाई सभापति रवि लामिछानेले सुरूवात गर्नेछन्। सो दिन मेलम्ची खानेपानी आयोजनामा दबाब यात्रा हुने रास्वपाले जनाएको छ।
सातै प्रदेशमा तीन वटाका दरले आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ। त्यसका लागि प्रतिनिधि सभा सांसदहरूलाई जिम्मेवारी दिइएको छ।
सभापति लामिछाने सहितले नारायणगढ–पुल्चोक–गोन्द्राङ सडकमा दबाब यात्रा गर्नेछन्।
उपसभापति डिपी अर्यालले काठमाडौं–मधेस द्रुतमार्ग र अर्का उपसभापति स्वर्णिम वाग्लेले घुमाउने पुल र सडक स्तरउन्नती योजनामा दबाब यात्रा गर्ने भएका छन्।
रास्वपाले गत पुस ९ देखि ११ गतेसम्म नारायणगढ–बुटवल ११३ किमी सडकमा दबाब यात्रा गरेको थियो। लामो समयदेखि अलपत्र र नागरिकले सास्ती व्यहोरिरहेका विकास आयोजना प्राथमिकतामा राखेर दबाब यात्रा गर्न लागिएको रास्वपाले जनाएको छ।
कर्णालीका कुन आयोजनामा कसको अगुवाई?
रास्वपाले गर्ने दबाब यात्रामा कर्णालीका तीन वटा आयोजनालाई छनोट गरिएको छ । भेरी–बबई डाइभर्सन, जुम्ला रोड र विद्युतीय लाइन विस्तार सम्बन्धि दबाब यात्रा हुने बताइएको छ ।
भेरी–बबई डाइभर्सनमा बिनिता कठायतले अगुवाई गर्नेछिन् । उनिसँग केन्द्रीय सदस्य विपिनकुमार आचार्य सहभागी हुनेछन् ।
कर्णाली राजमार्गको दैलेख खण्डका लागि सन्तोष परियारले अगुवाई गर्नेछन् । उनिसँग केन्द्रीय सदस्य धिरजबहादुर वली हुनेछन् ।
यस्तै, कोहलपुर–सुर्खेत–जुम्ला ट्रान्समिसन लाइनका लागि विन्दाबासिनी कंसाकारको अगुवाईमा केन्द्रीय सदस्य अनिलकेशरी शाह सहभागी हुने जनाइएको छ ।