रुकुमपश्चिम । सामान्यतः दुई व्यक्तिबीच पति पत्नीबीचको सम्बन्ध कायम गराउने धार्मिक वा सामाजिक कर्मलाई विवाह भनिन्छ । तर, रुकुम पश्चिमको एक गाउँमा परम्परा धान्ने उद्देश्यले नाटकीय विवाह गरिन्छ । बेहुला र बेहुलीबीचको सम्बन्ध दीर्घकालीन हुँदैन तर, विवाह गरिन्छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–७ को साँख गाउँमा हरेक वर्ष परम्परागत ‘पापिनी मेला’ लाग्ने गर्छ । तीन दिनसम्म लाग्ने मेला यो वर्ष माघ १४ देखि १६ सम्म मनाईयो । यो मेला वैवाहिक रीतिसँग सम्बन्धित छ ।
गाउँको बिचमा सुन्दर साँखदह छ । दहले माथिगाउँ र तलिगाउँ छुट्याएको छ । यस वर्ष माथी गाउँले तलिगाउँसँग दुलही माग्यो र विहेवारी भयो । अघिल्लो वर्ष तलिगाउँले दुलही अन्माएको थियो ।
रीत अनुसार बेहुली माग्ने, जन्ती जाने, बेहुली लिएर फर्कने, धुमधाम भोतभतेर गर्ने र मेला भर्नेकाम तीन दिनसम्म धुमधामका साथ हुन्छ, साँख गाउँमा । यसरी नै चलिआएको छ । यहाँ हरेक वर्षको माघ १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ बाजागाजासहित धुमधामका साथ जन्ती लिएर दुलही लिन जाने र सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने चलन रहेको छ ।
किंवदन्ती अनुसार कल्सुरो नामको राक्षसका कारणले गाउँमा विपत्ति भएको र राक्षसले रसरङ्ग खोजेकाले साँख दहमा मेला लगाई केटीकेटीबिच बिहे गरी सिमलनाथको पुजाअर्चना गरेपछि विपत्ति हटेको भन्ने परम्परा रहेकाले योे मेला लाग्दै आएको छ ।
कन्या ‘पापिनी’
‘पापिनी मेला’ अन्तर्गतको नक्कली बिहेका बेहुला बेहुली दुवै किशोरी हुन् । किशोरीलाई नै बेहुला र बेहुलीका रुपमा श्रृङ्गारेर चलिआएको रीत अनुसार बिहे सम्पन्न गरिन्छ । वडाध्यक्ष एक्कबहादुर पाण्डेले तीन दिन लगाएर सम्पूर्ण विधि–प्रक्रिया अनुसार धुमधामले गरिने बिहे भने ‘नक्कली’ भएको बताउनुभयो । बिहेमा बेहुला र बेहुली पनि नक्कली नै हुन्छन् । दुवै गाउँका केटीलाई बेहुला र बेहुलीको भूमिकामा राखिन्छ । दुबै पक्षका अभिभावक, बिहे गर्ने र गराउने जन्ती जाने, भोजभतेरमा सहभागी हुने सबै अविवाहित कन्या मात्र हुन्छन् । यीनै कन्यालाई ‘पापिनी’को संज्ञा दिइएको हुन्छ ।
परम्परा चलाउने कन्यालाई भने ‘पापिनी’को नाम दिइएको वडा अध्यक्ष पाण्डेले उल्लेख गर्नुभयो । ‘पापीनी’ हुनका लागि जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने गरेर तीन वटा योग्यता तोकिएको हुन्छ । वडा अध्यक्ष पाण्डेले भन्नुभयो, ‘‘गाउँको चालचलन धान्ने कन्या ‘पापिनी’ हुनुपरेको छ ।’ पुर्खौदेखि चलिआएको यो चलनको भरथेग गर्ने कन्यालाई ‘पापिनी’ किन भनियो भन्ने प्रश्न अनुत्तरित छ ।
यो संस्कार रहर वा बाध्यताभन्दा पनि परम्परा भएको स्थानीय अगुवा लालबहादुर महतले बताउनुभयो । साँखमा मानवबस्ती सुरुभएदेखि नै साँखदहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ । महतका अनुसार हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा मान्छे मर्छन् भन्ने जनविश्वास छ । हरेक वर्ष साँखका दुई गाउँले पापीनी तयार गर्छन् र परम्परा चलाउँछन् ।
सिस्नोले हान्ने र जरिवाना तिराउने
यो मेलामा सिस्नोले हान्ने र जरिवाना तिराउने अर्को परम्परा पनि रहेको छ । ‘पापिनी’ अगुवाको निर्देशन र पहलमा माघ १ गतेदेखि नै साँख दहको डिलमा थला बस्न सुरु गरिन्छ । तलीगाउँकी पापिनी दहको तल्लो डिल र माथिगाउँकी पापिनी माथिल्लो डिलमा हरेक राति बस्ने गर्छन् । यसबेला आगो बाल्ने, सिस्नो खेल्ने र नाच्ने काम गर्ने चलन रहेको छ ।
कन्याहरु गाउँ प्रवेश गर्ने चारैतिरका नाकामा बस्छन् । मेला हेर्न आउने मान्छेहरूलाई समातेर सिस्नोले हान्न थाल्छन् । त्यसरी समातिने तन्नेरी पापिनिहरुलाई उछिनेर भागेर जान नसके जरिवाना तिरेर जान पाउँछन् । जरिवानाको रकम उक्त बिहेको व्यवस्थापन खर्चमा प्रयोग गरिन्छ । उक्त मेलालाई संरक्षण तथा प्रवर्द्धन गर्ने हेतुले यसपटक हाम्रो सरोकार समाजले आयोजकको भूमिका निर्वाह गरेको छ । मेलामा विभिन्न सांस्कृतिक र खेलकुदका कार्यक्रमहरु राखिएको छ ।