कालिकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटले लागुऔषध विरुद्ध जनचेतना मूलक लालटिन अभियान सुरु गरेको छ।लागुऔषधले व्यक्ति र समाजमा दीर्घकालीन रूपमा नकारात्मक असर पारेको भन्दै प्रहरी कार्यालयले हिजो शुक्रवारदेखि लालटिन अभियान सुरु गरेको हो।
लागुऔषध दुर्व्यसन र अपराधलाई निरुत्साहित गर्न समाज र नागरिकमा सुरक्षित अनुभूति बनाउन अभियान सुरु गरिएको डिएसपी अर्जुन केसीले जानकारी दिए।उनले भने ‘नागरिकलाई सचेत बनाउन सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने हुन्छ।लागुऔषध दुर्व्यसन, अवैध रूपमा ओसारपसार र बेचबिखन नियन्त्रणका लागि यो अभियान सुरु गरिएको छ।’
युवा पुस्ताले लहलहैमा र विलासी जीवन जिउन आकस्मिक आर्थिक कमाइ गरी धनी बन्ने लालचमा लागुऔषधको सेवन, व्यापार र ओसारपसार गर्दा युवा र समाज उत्पादनशील भन्दा लागु औषधको लतमा फस्दै गएको भन्दै नियन्त्रण गर्न अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी पोषण थापाले बताए। विशेष गरेर बढ्दो लागुऔषध दुरुपयोग ओसारपसार लाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जिउने वातावरण श्रृजनाका लागि प्रहरीले सचेतना फैलाउन अभियान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले लागुऔषध नियन्त्रण गर्न जिल्लादेखि पालिका स्तरका प्रहरी युनिटले क्याम्पस, विद्यालय र समाजका नागरिकलाई सचेत गराउने भएको छ।शहरी क्षेत्र हुँदै लागुऔषध सेवन, ओसारपसार र व्यापार दुर्गम गाउँसम्म यातायातको सुविधासँगै विस्तार हुँदै गएकाले समयमै नियन्त्रण गर्न यो अभियान आवश्यक रहेको कार्यक्रममा सहभागीहरूको भनाई थियो।