काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि ७ महिना थुनामा रहेका रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण रिहा भएका छन् । उच्च अदालत पाटनले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश दिएको थियो ।
उच्चको आदेशपछि शुक्रबार धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि तारेखमा राखेपछि उनी कारागार मुक्त भएका हुन् ।
शरणार्थी प्रकरणमा राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते र ठगी गरी चार कसुरमा जिल्ला अदालत काठमाडौंमा खाणसहितका आरोपितविरुद्ध जेठ १० गते मुद्दा दायर भएको थियो । प्रतिवादीविरुद्ध चार कसुरबाहेक विभाग र अख्तियारबाट समेत थप अनुसन्धान गर्नुपर्ने निर्णय सरकारी वकिलको कार्यालयले गरेको थियो ।
खाणलाई बिहीबार उच्च अदालतले ३० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशपछि खाण धरौटी बुझाउन काठमाडौं जिल्ला अदालतमा पुगेका थिए । त्यहाँ धरौटी बुझाएपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान भइरहेकाले विभागले बयान लिएको थियो । बयानपछि विभागले उनीसँग १५ लाख रुपैयाँ धरौटी लिएर छोड्ने निर्णय गरेको थियो ।
नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अझै फरार छन् । जिल्ला अदालतको आदेशमा थुनामा रहेकामध्ये १० जनालाई मंसिर १५ गते नै उच्च अदालतले साधारण तारेख र धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोही मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत भने पुर्पक्षका लागि थुनामै छन् ।