काठमाडौं । भारतले चन्द्रयान ३ मार्फत चन्द्रमामा पठाएका प्रज्ञान रोभर र विक्रम ल्यान्डर सुतेको सुत्यै भएका छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोका वैज्ञानिकहरूले प्रज्ञान रोभर र विक्रम ल्यान्डरसँग सम्पर्क बनाउने प्रयास भए पनि कुनै पनि संकेत प्राप्त नभएको बताएका छन् ।
चन्द्रयानमार्फत गएका विक्रम र प्रज्ञानले १४ दिनसम्म चन्द्रमाबाट विभिन्न डाटा संकलन गरेर पृथ्वीमा पठाएका थिए । त्यसपछि भारतीय वैज्ञानिकहरुले चन्द्रमामा घाम अस्ताउन थालेकाले ४ सेप्टेम्बरमा प्रज्ञान र विक्रमलाई स्लिप मोडमा राखेका थिए । चन्द्रमामा १४ दिन लामो रात र १४ दिन लामो दिन हुन्छ । त्यसैले सौर्य शक्तिबाट चल्ने यी उपकरण सूर्यको प्रकाशबिना चल्न नसक्ने भएकाले १५–१६ दिनका लागि स्लिप मोडमा राख्नु परेको थियो ।
जस अनुसार चन्द्रमामा घाम उदायपछि २२ सेप्टेम्बरमा उनीहरुले विक्रम र प्रज्ञानलाई सक्रिय गराउने योजना बनाएका थिए । तर त्यो दिन असफल भएपछि उनीहरुले २३ सेप्टेम्बरमा त्यो प्रयास गरे । तर सफलता प्राप्त भएन । चन्द्रमामा अझै केही दिन घाम लागि रहने भएकाले घाम रहुञ्जेल सम्पर्क गर्ने प्रयास जारी राख्ने इसरोको योजना छ । तर इसरोका प्रमुख एएस किरणकुमारले प्रज्ञान र विक्रम पुन सक्रिय हुने संभावना सकिँदै गएको बताएका छन् ।
चन्द्रमाको दक्षिणी ध्रुव जहाँ प्रज्ञान र विक्रम छन्, त्यो ठाउँमा रातको समयमा तापक्रम माइनस १३० डिग्रीसम्म चिसो हुन्छ ।अमेरिकी अन्तरिक्ष एजेन्सीे नासाका अनुसार त्यहाँका कुनै कुनै ठाउँमा त तापक्रम माइनस २५३ डिग्रीसम्म पुग्छ । चन्द्रमाको त्यो चिसोका कारण विक्रम र प्रज्ञानका कुनै उपकरणमा क्षति पुगेकाले सम्पर्क नभएको हुन सक्ने उनी बताउँछन् । विक्रम र प्रज्ञान फेरि सक्रिय भए उनीहरले पहिलाको जस्तै चन्द्रमाका बारेमा थप जानकारी पठाउने छन् । तर सक्रिय भएनन् भने यिनीहरु भारतको दूतका रुपमा चन्द्रमामै बस्ने इसरोले बताएको छ ।