सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले आफ्नो नेतृत्वमा गठीत सरकारले हासिल गरेको उपलब्धीहरु सार्वजनिक गरेका छन् । मंगलबार कर्णाली बासीका नामममा सम्बोधन गर्दै कर्णालीमा सुशासन कायम गर्नुका साथै छ ‘ब’ कार्यान्वयनमा ल्याउने मुख्य उपलब्धी भएको बताए ।
नयाँ सरकार गठनका लागि एक दिनमात्रै समय बाँकी रहेका बेला मुख्यमन्त्री शाहीले आफुले गरेका काम सार्वजनिक गरेका हुन् । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले बुधबार साँझ ५ बजेभित्र सरकारको मुख्यमन्त्री दावी गर्न समयसीमा तोकका छन् ।
२०७८ कार्तिक १६ गते शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आफ्नो कार्यकालमा तीन तहका दुई वटा निर्वाचन सम्पन्न गराउनुपर्ने चुनौतीका बीच चार सय ३५ दिनको अवधिमा अपेक्षित उपलब्धीहरु हासिल गर्न सकिएको बताए ।
छोटो समयमै केही परिवर्तनहरु भएको उनको दावी छ । मुख्यमन्त्री शाहीले कर्णाली समय, अवरुद्ध विकास पूर्वाधारहरुको निर्माण, ‘६ब’को कार्यान्वयन, सुशासन र कानुन निर्माण, स्थानीय तहसँगको समन्वयलगायतका क्षेत्रमा महत्वपूर्ण कामहरु गरिएको उद्घोष गरे ।
प्रदेशको विकास र समृद्धिको आधारको रुपमा रहेको ‘६ब’ (बन, बाटो, बजार, बिजुली, बिचार र व्यवस्थापन) मा प्रदेश सरकारको प्राथमिकताका साथ अगाडी बढाएको बताए । उनले ‘कर्णाली टाइम’लाई कार्यान्वयनमा ल्याउन सकिएको बताए । ‘हामीले कर्णाली प्रदेशको कामकारवाही र विकासको मोडेललाई ब्राण्डिङ्ग गरेका छौं। हिजोको नेपाली टाइम भन्ने र हरेक क्रियाकलाप निर्धारित समय भन्दा ढिला गरी शुरु गर्ने र त्यसलाई स्वाभाविक र संस्कारको रुपमा लिने खराव परिपाटीको अन्त्य भएको छ ।’ मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली टाइम, कर्णालीमा मात्रै होइन्, देशभर लागू हुँदै गएको छ ।’
पूर्णपाठ हेर्नुहाेस्ः