काठमाडाैं। भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन्। सन्देशमा यो पर्वले आपसी सद्भाव, करुणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।
विश्वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रही आएको स्मरण गर्दै शुभकामना सन्देशमा उहाँले त्यसले सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गरेको उल्लेख छ।
उनले काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको उल्लेख गरिन्। त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश दिँदै सम्पूर्ण हिन्दु धर्मावलम्बीका लागि आराध्यदेव भगवान् श्रीकृष्णको शिक्षा र सन्देश समस्त मानव समुदायका लागि अत्यन्त उपयोगी र सारगर्भिक रहेको बताए।