सुर्खेत। देशभरको तुलनामा आवश्यकता अनुसार बच्चालाई स्नतपान गराउनेको संख्या सन्तोषजनक रहेको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार कर्णालीमा ६८ प्रतिशत आमाहरुले बच्चा जन्मिएको एक घण्टाभित्र स्तनपान गराउँछन्।
एक घण्टाभित्र गराईने जुन स्तनपानले बाल मृत्युदरमा ३३ प्रतिशत कमी ल्याउँछ। यसमध्येमा पनि कर्णालीका ग्रामीण र शहरी क्षेत्रको तथ्याङ्क छुट्टाछुट्टै छ। जन्मिएको एक घण्टाभित्र शिशुलाई दुध खुवाउने आमाको संख्या ग्रामीण क्षेत्रमा ६९ प्रतिशत छ भने शहरी क्षेत्रमा ५८ प्रतिशत छ। निर्देशनालयको तथ्याङ्कअनुसार नेपालमा भने ४२ प्रतिशत आमाहरुले मात्र आफ्नो शिशुलाई जन्मिएको एक घण्टाभित्र दुध खुवाउँछन्।
यस्तै विश्वव्यापी मान्यताअनुसार जन्मिएको जन्मिएको ६ महिनासम्म आमाको दुधमात्र खुवाउनेको संख्या पनि कर्णालीमा ६८ प्रतिशत छ भने २ बर्षसम्म निरन्तर आमाको दुध खुवाउनेको संख्या ८९ प्रतिशत छ। यो संख्या नेपालका अरु प्रदेशको तुलनामा बढी हो। यस्तै कर्णालीमा दुधदानीबाट दुध खुवाउनेको संख्या १२ प्रतिशत मात्र छ।
दुधदानीबाट आमाको वा अन्य दुध बच्चालाई खुवाउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिदैन। कर्णाली प्रदेशमा दुधदानी (बोटल फिडिङ) पनि अरु प्रदेशको तुलनामा कम रहेको निर्देशनालयले जनाएको छ।
अरु प्रदेशमा यो संख्या १२ प्रतिशत भन्दा बढी छ। विश्व स्वास्थ्य संगठनका अनुसार आमाको दुध बच्चाका लागि सबैभन्दा पुरानो र पहिलो खोप हो। विश्वको ३१ प्रतिशत देशहरुमा मात्र स्तनपानसम्बन्धि राष्ट्रिय कानुन बनाईएको छ। नेपालको सन्दर्भमा काममा आवद्ध तथा शिक्षित महिलाहरुबाट नै स्तनपानमा कमजोरी भएको तथ्याङ्कले देखाएको छ।