सुर्खेत । सत्ता गठबन्धन दलबीच कर्णालीमा रहेका १० जिल्लामध्ये आठ जिल्लामा भागबण्डाकाे सहमति भएकाे छ । गत साता बिहिबारदेखि छलफलमा जुटेका दलबीच कर्णालीका पालिकाको नेतृत्व बाँडफाँटको सहमति भएको हाे ।
आईतबार बेलुका सुर्खेत र रूकुम पश्चिमबाहेकका जिल्लामा पालिका बाँडफाँटको सहमति भएको छ। नेपाली कांग्रेसकाे नेतृत्वमा गठबन्धन गरेर निर्वाचनमा जाने केन्द्रीय संयन्त्रकाे निर्णय भएपनि कर्णालीकाे भागबण्डामा भने माओवादी केन्द्र अगाडी देखिएकाे छ ।
बाँडफाँट अनुसार नेकपा माओवादी केन्द्रले २५ पालिकामा प्रमुख र २६ पालिकामा उपप्रमुख पाएको छ। यस्तै नेपाली कांग्रसले २५ पालिकामा प्रमुख र २३ पालिकामा उपप्रमुख पाएको छ। नेकपा (एकीकृत समाजवादी) ले १३ पालिकामा प्रमुख तथा १६ पालिकामा उपप्रमुख पाएको छ।
डोल्पामा नेकपा माओवादी केन्द्रले ३ पालिकामा प्रमुख र दुई पालिकामा उपप्रमुख पाउने भएको छ। नेपाली कांग्रेसले १ प्रमुख, ३ उपप्रमुख पाएको छ। नेकपा (एकीकृत समाजवादी) ले ४ प्रमुख र तीन उपप्रमुख पाएको छ।
जाजरकोटमा माओवादी केन्द्रले तीन पालिकामा प्रमुख र उपप्रमुख पाएको छ भने कांग्रेसले पनि सोही संख्यामा प्रमुख र उपप्रमुख पाएको छ । समाजवादीले एक/एक प्रमुख तथा उपप्रमुख पाउने सहमति भएको छ।
दैलेखका ११ स्थानीय तहमध्ये नेकपा माओवादी केन्द्रले २ पालिकामा प्रमुख र ३ पालिकामा उपप्रमुख पाएको छ। कांग्रेसले ६ पालिकामा प्रमुख र ५ वटा पालिकामा उपप्रमुख पाएको छ। एकीकृत समाजवादीले तीन पालिकामा प्रमुख र २ पालिकामा उपप्रमुख पाएको छ।
मुगुमा माओवादीले प्रमुख र उपप्रमुख एक/एक पालिकामा पाएको छ। कांग्रेसले दुई/दुई जना प्रमुख र उपप्रमुख पाएको छ भने समाजवादीले पनि एक/एक जना प्रमुख उपप्रमुख पाएको छ।
हुम्लामा माओवादीले ४ प्रमुख, २ उपप्रमुख पाएको छ। कांग्रेसले तीन प्रमुख, दुई उपप्रमुख र समाजवादीले तीन जना उपप्रमुख पाएको छ।
सल्यानमा माओवादीले ४ प्रमुख र ५ उपप्रमुख पाएको छ। नेपाली कांग्रेसले ४ प्रमुख र ३ उपप्रमुख पाएको छ भने समाजवादीले २ प्रमुख र ४ उपप्रमुख पाएको छ।
जुम्लामा माओवादी केन्द्रले ३ प्रमुख, ५ उपप्रमुख पाएको छ। कांग्रेसले ४ प्रमुख, २ उपप्रमुख पाएको छ भने समाजवादीले जुम्लामा एक/एक जना प्रमुख तथा उपप्रमुख पाएको छ।
कालीकोटमा माओवादीले पाँच पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख पाएको छ। कांग्रेसले दुई पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख पाएको छ भने समाजवादीले दुई/दुई वटा पालिकामा प्रमुख र उपप्रमुख पाएको छ।
चार दिनसम्म भएको दलहरुबीचको छलफलमा सुर्खेत र रूकुम पश्चिमका पालिकाको बाँडफाँटका बारेमा भने कुरा मिल्न सकेको छैन ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार सहमति जुट्न बाँकी दुई जिल्लाका बारेमा आज छलफल हुँदैछ। आज ७ बजेदेखि छलफल सुरु गरी मनोनयन दर्ता सुरू हुने समयसम्म टुंग्याईसक्ने उनले जानकारी दिईन्।