कर्णाली । कर्णालीमा आठ स्थानका लागि भएको उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ। चिसो मौसममा पनि मतदान भएका स्थानीय तहका स्थानीयहरूले उत्साहजनक सहभागितामा आफ्नो मताधिकार प्रयोग गरेका थिए।
कर्णालीका अधिकांश स्थानमा चिसोका कारण तोकिएको समयभन्दा एक–डेढ घण्टा ढिलो मतदान सुरु भएको थियो। कर्णालीमा एक गाउँपालिका अध्यक्ष, एक नगरपालिका उपमेयर र एक गाउँपालिका उपाध्यक्ष र पाँच वडाध्यक्षका लागि निर्वाचन भएको हो। कालिकोट, डोल्पा, हुम्लालगायतका निर्वाचन केन्द्रमा बिहान सात बजेदेखि मतदान सुरु गर्ने भनिएपनि चिसोका कारण केही ढिलो मतदान भएको थियो।
हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ का सहायक निर्वाचन अधिकृत गोपालप्रसाद ज्ञवालीले चिसोका कारण प्रतिनिधि र मतदाताहरु ढिलो मतदानस्थलमा पुगेकाले बिहान आठ बजेदेखि मतदान सुरु भएको बताए।
‘अत्यधिक चिसोका कारण मतदानस्थलमा प्रतिनिधि र मतदाताहरु ढिलो आउनुभयो, तोकिएको समय भन्दा एक घण्टा पछाडिबाट मात्रै मतदान सुरु भयो,’ उनले भने, ‘एक घण्टा ढिलो मतदान सुरु भएपनि ८५।८४ प्रतिशत मत यहाँ खसेको छ।’
डोल्पाका प्रमुख जिल्ला अधिकारी रोम महतका अनुसार चिसोका कारण मतगणना सोमबार बिहान १० बजेदेखि गर्ने सहमति भएको छ। ‘अत्यधिक चिसो छ,’ उनले भने, ‘त्यसैले सर्वदलीय बैठकले मतगणना सोमबार बिहानबाट गर्ने निर्णय गरेको छ।’ वडाध्यक्षका लागि ३०३ जनाले मतदान गरेको प्रजिअ महतले जानकारी दिए। ती मध्ये १४५ पुरुष र १५८ महिला मतदाता छन्।
कर्णालीमा निर्वाचन भएका आठ पदका लागि ४२ हजार २७७ मतदाता थिए। ती मध्ये २६ हजार ३८१ मत खसेको हो। आठ पदका लागि ४४ जना उम्मेदवार चुनावी मैदानमा छन्।
दैलेखको महाबु गाउँपालिका अध्यक्षका लागि एमालेका जंगबहादुर शाही, कांग्रेसका झलक भण्डारी, माओवादी केन्द्रका जंगबहादुर बराल मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुर्जे राव, एकीकृत समाजवादी जगतबहादुर हमाल र नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर मगर चुनावी मैदानमा छन्।
नेपाली कांग्रेसबाट निर्वाचित लक्षुमन गुरुङको मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो। महाबुका छ वटा वडाका १६ मतदान केन्द्रमा छ हजार ९८९ मत खसेको छ। महाबुमा १२ हजार ६१४ मतदाता थिए। यहाँ मध्य रातिदेखि मतगणना हुनेछ।
दैलेखको दुल्लू नगरपालिका–१३ को वडाध्यक्षका लागि भएको मतदानमा एक हजार ५८७ जनाले मतदान गरेका छन्। यहाँ दुई हजार ७०६ मतदाता थिए। यहाँ वडाध्यक्षका लागि एमालेका लालबहादुर शाही, कांग्रेसका रेशमबहादुर शाही, माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेशमबहादुर मल्ल र नेपाल मजदुर विकास पार्टीका पूर्णप्रसाद उपाध्याय चुनावी मैदानमा छन्।
हिमाली जिल्ला हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको निर्वाचनमा ६७ प्रतिशत मत खसेको छ। उपाध्यक्षका लागि भएको निर्वाचनमा चार हजार ५२४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। यहाँ छ हजार ८१० मतदाता थिए।
सर्केगाडको उपाध्यक्षको निर्वाचनका लागि १२ मतदान स्थलमा १३ मतदान केन्द्र बनाइएको थियो। उपाध्यक्षका लागि यहाँ एमालेका जाना शाही, कांग्रेसका सविता बुढा, माओवादी केन्द्रका देवकी तिमल्सेना, राष्ट्रिय स्वतन्त्र पार्टीका बाँचा बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीका संगीता शाही र स्वतन्त्र उम्मेदवार नरेश शाही चुनावी मैदानमा छन्।
कालिकोटको तिलागुफा नगरपालिका–४ वडाध्यक्षका लागि ६७।४८ प्रतिशत मत खसेको छ। यहाँ ६०९ मतदाता मध्ये ४११ मतदाताले मतदान गरेका थिए। वडाध्यक्षका लागि रुकुम पश्चिममा झण्डै ८० प्रतिशत मत खसेको छ। यहाँको सानीभेरी गाउँपालिका वडा नं. ५ को वडाध्यक्षका लागि आइतबार भएको मतदानमा एक हजार १४६ मतदाताले मतदान गरेको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिए।
यहाँ वडाध्यक्षका लागि माओवादी केन्द्र र र नेपाली कांग्रेसका उम्मेदवार मात्रै चुनावी मैदानमा छन्। कांग्रेसका मोतीराम खत्री र माओवादी केन्द्रका जसीराम बस्नेत चुनावी मैदानमा छन्। जाजरकोटमा दुई स्थानका लागि भएको मतदानमा ६५.३४ प्रतिशत मत खसेको छ। यहाँ नलगाड नगपालिका उपमेयर र कुशे गाउँपालिका–७ को वडाध्यक्षका लागि मतदान भएको हो।
कुशे गाउँपालिका–७ को वडाध्यक्षका लागि ९५६ मत खसेको छ। यहाँ एक हजार ३०२ मतदाता थिए। वडाध्यक्षका लागि एमालेका डम्बरबहादुर घर्ती, कांग्रेसका खम्बबहादुर सिंह, माओवादी केन्द्रका गोरखबहादुर नेपाली र राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर खत्री चुनावी मैदानमा छन्।
यस्तै, नलगाड नगरपालिकाको उपमेयरका लागि १० हजार ६०७ मत खसेको छ। यहाँ १६ हजार ४४९ मतदाता थिए। उपमेयरका लागि यहाँ एमालेका सुनिता बोहरा, कांग्रेसका इन्द्रा चन्द सिंह, माओवादी केन्द्रका देवका लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका पार्वती पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीका पवित्रा जैसी चुनावी मैदानमा छन्।