काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको सरकार अहङ्कारपूर्ण र गलत बाटोतिर अग्रसर भएको निष्कर्ष निकालेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘झन्डै पौने दुई महिना भन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु । सरकार अहङ्कारपूर्ण तर गलत बाटोतिर अग्रसर छ’, प्रचण्डले भने ।
सरकारमा सङ्ख्याको उन्माद देखिएको भन्दै प्रचण्डले जसको फलस्वरुप शक्तिको दुरुपयोगतर्फ अग्रसर भएको पनि बताए । त्यसैले अब रचनात्मक खबरदारीका लागि ढिला गर्न नहुने ठानेर आफू हनिमुन अवधि पनि नपर्खी संसदको रोस्टममा खडा भएको प्रचण्डले बताए ।