काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको सदस्य सङ्ख्या बढाउने भएको छ ।
यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको सो पार्टीले नेताहरूको व्यवस्थापन गर्न सकस भएपछि केन्द्रीय सदस्यको सङ्ख्या १० प्रतिशत बढाउन लागेको हो । १० प्रतिशत बढाउँदा ३२९ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । बिहीबार बसेको केन्द्रीय समिति बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य थप्नेबारे छलफल भएको एक नेताले जानकारी दिए । उनका अनुसार छलफल भएपनि निर्णय गर्न बाँकी नै रहेको छ । ‘छलफल भएको छ, निर्णय हुन बाँकी छ’, ती नेताले भने, ‘त्यो दश प्रतिशत २९९ सदस्यीय कमिटी बनेपछि थप्ने कि अहिले नै थपेर घोषणा गर्ने भन्नेमा नेताहरूबिच एकमत भइसकेको छैन ।’
गत असार २१ गते प्रज्ञा भवनस्थित दसौँ राष्ट्रिय महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत घोषणा गरेको सो पार्टीले बाँकी २०६ जना केन्द्रीय सदस्य महाधिवेशन सकिएको १० दिनभित्र चयन गरिसक्ने जनाएको थियो । तर महाधिवेशन सकिएको २० दिन बित्दा पनि केन्द्रीय कमिटीलाई पूर्णता दिन सकेको छैन ।
बिहीबारको बैठकले साउन १४ गते बस्ने बैठकमार्फत केन्द्रीय कमिटीलाई पूर्णता दिने नेता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘साउन १३ भित्र आन्तरिक गृहकार्य सकेर १४ गते बैठक बसेर सोही दिन केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी छ’, खतिवडाको भनाइ छ । स्रोतका अनुसार आकांक्षी धेरै भएपछि २९९ सदस्यीय केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य थप्ने तयारी भएको छ ।
नेता राजेन्द्र पाण्डेले विधानमै १० प्रतिशत सदस्य थप्न सकिने व्यवस्था भएको बताए । तर यसअघि ३४६ सदस्यीय केन्द्रीय कमिटी हुँदा कमिटी भद्दा भएको भन्दै सानो आकारको केन्द्रीय कमिटी बनाउने निर्णय गरेपनि आकांक्षीको व्यवस्थापन गर्ने नाममा फेरि भद्दा कमिटी बनाउने दिशामा एकीकृत समाजवादी लागेको छ । ‘मतदान भएको भए बेग्लै हुन्थ्यो । मतदान नभएपछि नेताले नेता छान्नुपर्ने अवस्थामा सकस हुने नै भयो’, एक नेताले भने, ‘शीर्ष नेताका आफन्त समेट्न पनि १० प्रतिशत सदस्य थप्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार नयाँ मानिस ल्याउनुपर्ने, ३३ प्रतिशत महिला अनिवार्य र ४५ वर्षमुनिका ६० जना युवा केन्द्रीय कमिटी सदस्यमा ल्याउनै पर्ने व्यवस्थाका कारण पनि यस्तो बाध्यता आइलागेको ती नेताको भनाइ छ ।