वाग्मती । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका छन् ।
मंगलबार सत्ता साझेदार दल नेकपा एमालेका नेता जग्गनाथ थपलिया तथा सांसदहरुसहित हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर लामाले दाबी पेस गरेका हुन् । उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई ६४ सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका छन् । जुन सरकार गठनका लागि पर्याप्त हुन्छ । ११० सदस्यीय प्रदेशसभामा नयाँ सरकार गठन गर्न ५६ सांसदको साथ भए पुग्छ ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आइतबार दाबी पेस गर्न आह्वान गरेका थिए । शर्माले आज मंगलबार साँझ ५ बजेसम्म दावीका लागि समय तोकेका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो । केन्द्रीय समीकरण अनुसार वाग्मतीमा नेकपा एमालेको समर्थनमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ ।