बागमती । राज्य संघीय संरचनामा आएसँगै बागमती प्रदेशमा ४ जना मुख्यमन्त्री फेरिए पनि कांग्रेसले सरकारको नेतृत्व गर्न पाएको थिएन। कहिले सत्ता साझेदारका रूपमा त कहिले प्रतिपक्षमा बस्नुपर्ने बाध्यताका बीच केन्द्रमा बनेको सत्ता समीकरणले यो पटक भने कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर दिएको छ।
यसअघि प्रदेशको पहिलो प्रदेशसभाको कार्यकालमा तेस्रो ठूलो दलका रूपमा रहेको कांग्रेस दोस्रो कार्यकालसम्म आइपुग्दा पहिलो ठूलो दल भए पनि स्पष्ट बहुमत नहुँदा गठबन्धनमा आबद्ध मात्र रहेको थियो। यसअघिसम्म प्रदेशको पहिलो मुख्यमन्त्रीका रूपमा नेकपा एमाले तर्फबाट डोरमणी पौडेल सरकारको नेतृत्व गर्दा दोस्रो मुख्यमन्त्री एमालेकै अष्टलक्ष्मी शाक्य बनेकी थिइन्। तेस्रो मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र चौथो मुख्यमन्त्री नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल भएका थिए।
पाँचौं मुख्यमन्त्री नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा बन्ने भएका छन्। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा लामालाई अघि बढाउने निर्णय गरेको हो। लामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता हुन्। बागमती प्रदेशमा पहिलोपटक नेपाली कांग्रेसले र देशमा पहिलोपटक तामाङ समुदायले मुख्यमन्त्री पाउने भएका हुन्।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक मधुसुधन पौडेलले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तामाङको नेतृत्वमा सरकार बन्ने बताए। ‘हामी अब आवश्यक प्रक्रियामा अघि बढ्छौं, मन्त्रालय १३ को संख्या बढाउँदैनौं। मन्त्रीहरू बारे सल्लाह हुँदैछ’, उनले भने। १ सय १० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
एमाले–कांग्रेस समीकरणमा ६४ जना सांसद छन्। बहुमतका लागि ५६ सांसदको समर्थन भए पुग्छ। पछिल्लो समीकरण अनुसार एमाले–कांग्रेस गठबन्धनलाई स्पष्ट बहुमतको सुविधा छ। एमाले कांग्रेसको समिकरण हुँदा बागमती प्रदेशमा साना दलको महत्व भने घटेको छ।