सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संसदबाट विश्वासको मत लिन आज सभामा पेश हुँदैछन् । सरकारमा सहभागी नेपाली काङ्ग्रेसले समर्थन फिर्ता लिएपछि उनले आज विश्वासको मत लिनुपर्ने भएको हो ।
माओवादी केन्द्रका शर्मा रुकुम पश्चिमबाट निर्वाचित सांसद हुन् । उनि नेकपा एमालेको समर्थनमा पहिलो पटक २०७९ पुस २७ गते मुख्यमन्त्री बने । त्यसयता उनि आज चौंथो पटक विश्वासको मत लिँदैछन् । विश्वासको मत पटक–पटक लिएपनि उनका लागि यस अघि सहज थियो भने यसपटक अलि जटिल बनेको छ ।
कर्णालीमा दुई दलहरु मिल्दा सहजै सरकार गठन हुनसक्छ । ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सांसद चाहिन्छ । ठूलो दल नेपाली काङ्ग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी एक, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् ।
काङ्ग्रेस सँगको समिकरणमा सहज सरकार चलाईरहेका शर्मालाई केन्द्रीय समिकरणमा आएको परिवर्तनका कारण पुनः विश्वासको मत लिनुप¥यो । काङ्ग्रेसबाट सरकारमा सहभागी तीन मन्त्रीले गत फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता सहित राजीनामा दिए । ‘सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता’ लिएको ३० दिनभित्र संभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यस अनुसार शर्माको उक्त समय आजै सकिदैछ ।
भागबण्डामा एमालेले पाउनुपर्ने अडान
केन्द्रीय समिकरण अनुसार नेताहरुबीच भागबण्डा हुँदा कर्णालीमा एमालेले सरकारको नेतृत्व पाउने सहमति भएको छ । त्यसअनुसार प्रदेश तहमा पनि एमाले सांसदहरुले नेतृत्व लिने अडान राखेका छन् । तर, मुख्यमन्त्री शर्मा भने सहजै सत्ता सुम्पिन चाहेका छैनन् ।
गठबन्धन भईसकेपछि केन्द्रीयस्तरमा भएको सहमति अनुसार सरकारहरु गठन हुनुपर्ने नेताहरुको भनाई छ । त्यसअनुसार शर्माले मुुख्यमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने एमाले सांसदहरुको जोड छ ।
विश्वासको मतपछि राजीनामा?
माओवादी केन्द्रले भने अहिले विश्वासको मत पाईसकेपछि मुख्यमन्त्रीबाट राजीनामा दिन सकिने विकल्प एमालेसँग राखेको छ । तर, त्यो विकल्पमा एमाले सहमत छैन ।
विश्वासको मत लिने प्रयोजनका लागि प्रकृया भईसकेकोले अब विश्वासको मत पाइसकेपछि राजीनामा दिन तयार भएको माओवादी कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक रनसिंह परियारले बताए । ‘पत्र सचिवालय दर्ता नभएको भए त्यस्तो गरिँदैन थियो । आज विश्वासको मत लिएर भोलि नै राजीनामा दिन तयार छौं,’ परियारले भने, ‘त्यस्तो हुँदैन थियो भने जे पर्ला भनेर हिजै विश्वासको मत लिन सक्थ्यौं ।’
उनका अनुसार एमालेले माओवादीसँग यसमा लिखित प्रतिबद्धता मागेको थियो । उक्त मागमा माओवादी सकारात्मक रहेको उनको भनाई छ । तर, एमाले भने यसमा पनि सहमत छैन ।
हामीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने अडान कायमै राखेका छौं’ एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले भने, ‘उहाँले राजीनामा नदिएको अवस्थामा विश्वासको मत दिनु अगाडी दलको बैठकबाट भएको निर्णयअनुसार हुन्छ ।’