सुर्खेत । कर्णालीका १ लाख २० हजार ५ सय १० जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाइने भएको छ । नियमित खोपको लक्षित समूह अन्तर्गतका २१ हजार ६ सय ५७ जना किशोरी र अभियानको लक्षित समूह अन्तर्गतका ९८ हजार ८ सय ५८ किशोरीलाई एचपीभी खोप लगाइने भएको हो ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार नियमित खोपको लक्षित समूह अन्तर्गत कक्षा ६ मा अध्ययनरत २० हजार २ सय २३ र अभियानको लक्षित समूह अन्तर्गत कक्षा ७ देखि १० मा अध्ययनरत ७९ हजार १ सय ३४ किशोरीलाई उक्त खोप लगाइने छ । निर्देशनालयको तथ्याङ्कमा कर्णालीका २१ हजार १ सय ५३ जना छात्राहरू विद्यालयको पहुँच बाहिर छन् । विद्यालय नजाने छात्राहरूलाई पनि खोप लगाइनेछ । त्यस्ता छात्राहरू १० वर्ष उमेर समूहका १ हजार ४ सय ३४ र ११ देखि १४ वर्ष उमेर समूहका १९ हजार ७ सय १९ रहेका छन् ।
यद्यपि शिक्षा सम्बद्ध निकायहरूले भने पछिल्लो समय अधिकांश छोरीहरू विद्यालयको पहुँचमा पुगेको तथ्याङ्कहरू देखाउँछन् । खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने छ । यद्यपि कर्णालीका हिमाली क्षेत्रहरूमा भौगोलिक कठिनाइका कारण केही ढिलाइ पनि हुन सक्ने निर्देशनालयले जनाएको छ ।
२५ हजार किशोरी सहभागी
सुर्खेतका करिब २५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । माघ २२ गतेदेखि सञ्चालन गरिने खोप अभियानमा सुर्खेतका विभिन्न पालिकामा दुई चरण गरी खोप लगाइने बताइएको छ । पहिलो चरणमा सुर्खेतका पाँच पालिकामा र दोस्रो चरणमा चार पालिकामा खोप कार्यक्रम सञ्चालन गरिने छ ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक तथा खोप फोकल पर्सन घनश्याम बुढाले पहिलो चरणमा माघ २२ गतेदेखि २५ गतेसम्म वीरेन्द्रनगर, भेरीगंगा, लेकवेशी नगरपालिकासहित चिङ्गाड र बराहताल गाउँपालिकामा खोप लगाइने र दोस्रो चरणमा माघ २७ देखि फागुन १ सम्म चौकुने, सिम्ता गाउँपालिका, पञ्चपुरी र गुर्भाकोट नगरपालिकामा खोप कार्यक्रम सञ्चालन हुने उनले बताए ।
निरीक्षक बुढाका अनुसार विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई यो खोप दिइने छ । विद्यालय जाने विद्यार्थीहरूका लागि उमेर हेरिने छैन भने विद्यालय बाहिरका किशोरीहरूका लागि जन्म दर्ताको आधारमा उमेर प्रमाणित गरिने छ । कार्यक्रममा प्रदेश अस्पताल सुर्खेतका डा। सुवास शर्माले एचपिभी खोपलाई विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरिसकेको र यो पूर्ण रूपमा सुरक्षित भएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरे ।
साथै, कर्णाली प्रदेश अस्पताल, सुर्खेतका निर्देशक डा.केशर ढकालले खोप लगाएपछि कसैलाई हल्का ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने जस्ता सामान्य असर देखिए पनि केही समयमै ठिक हुने भएकाले नआत्तिन आग्रह गरे । उनले खोप अभियान महत्त्वपूर्ण रहेकाले नजिकै पायक पर्ने ठाउँमा गएर खोप लगाउन आग्रह गरे । उनले खोप लगाएकै कारण जटिल प्रकारको समस्या देखिए तत्कालै समस्याको समाधान गर्न प्रदेश अस्पताल तयारी अवस्थामा रहेको दाबी गरे ।
दीर्घकालीन रोगबाट बच्न ‘खोप अभियान’
एच.पी.भी. खोप अत्यन्त सुरक्षित र प्रभावकारी मानिन्छ। विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारको औषधि व्यवस्था विभागले यसको प्रयोगका लागि स्वीकृति दिएको छ । खोप लगाएपछि सामान्य असरहरू देखिन सक्छन् । जस्तै ज्वरो, टाउको दुखाइ, वा वाकवाकी, तर यी लक्षणहरू केही समयमै आफैँ ठिक हुने बताइएको छ ।
नेपाल सरकारको यो खोप अभियानले किशोरीहरूलाई एच.पी.भी. सङ्क्रमणबाट सुरक्षित राख्दै पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउने विश्वास गरिएको छ । विशेष गरी दुर्गम क्षेत्रका किशोरीहरूले खोप पाउने सुनिश्चित गर्न कर्णाली प्रदेशमा स्थानीय तहहरू र स्वास्थ्य संस्थाहरूसँग समन्वय गरिएको छ । अभिभावकहरूलाई आफ्ना छोरीहरूलाई खोप लगाउन प्रेरित गर्न आग्रह गरिएको छ । किनकि प्रारम्भिक उमेरमै खोप लगाउँदा दीर्घकालीन रूपमा रोगबाट सुरक्षित रहन सकिन्छ ।