सुर्खेत । संघीय सरकारको आगामी वर्षको बजेटमा विगतका कार्यक्रमको निरन्तरता सहित केहीमात्रै नयाँ योजना समेटिएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा कर्णाली र भेरी कोरिडोर सडक आयोजना स्तरोन्तिको कामलाई तीव्रता दिने पुरानै योजना दोहोरिएको छ । जसमा कर्णाली कोरिडोरमा पाँच वटा पक्की पुल र ५० किलोमिटर सडक स्तरोन्नतिको काम गरिने उल्लेख छ ।
यस्तै, कोहलपुर–सुर्खेत रत्नराजर्माग, कर्णाली राजमार्ग स्तरोन्नतिको योजना यसवर्ष पनि छुटेको छैन । सुर्खेतको भेरीगंगालाई पहाडको आधुनिक शहर बनाउन गुरुयोजना तर्जुमा गर्ने पुरानै योजना ल्याइएको छ । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई बहुउद्देश्यीय आयोजनाको हेडवक्स र विद्युतगृह निर्माणका लागि दुई अर्ब बजेट विनियोजन भएको छ । स्वास्थ्यतर्फ सुर्खेतमा मेडिकल कलेज स्थापना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नति गरी पाँच सय शैय्या पु¥याइने बजेटमा भनिएको छ ।
कर्णालीको ऊर्जा विकासका लागि ४१७ मेगावटको नलसिङगाड जलविद्युत आयोजना, २८० मेगावाटको नौमुले बहुउद्देश्यीय जलविद्युत आयोजना र डोल्पाको १०६ मेगावटको अर्धजलाशययूक्त जगदुल्ला हाइवड्रोपावर आगामी आर्थिक वर्षबाट अगाडि बढाइने अर्थमन्त्री पुनले जानकारी दिए ।
नेपालकै सबैभन्दा धेरै परिमाणमा विद्युत उत्पादनको सम्भावना बोकेको १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गरिने महत्वकांक्षी योजना ल्याइएको छ । अर्थमन्त्री पुनले सुर्खेत र जुम्ला विमानस्थल विस्तार आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए ।
यस्तै, कर्णालीमा कृषि र वनमा आधारित समृद्ध कर्णाली उद्यमशिलता कार्यक्रम, सल्यानमा कृषि कोरिडोर, जुम्लाको तिला र हिमा नदी आसपासका क्षेत्रलाई मार्सी कोरिडोर स्थापना गर्ने र समग्र कर्णालीलाई जडिबुटीको हवको रुपमा विकास गर्ने योजना ल्याइएको छ ।
कर्णालीका १० वटै जिल्लामा सञ्चालन हुनेगरी एकिकृत कर्णाली सिँचाइ विकास कार्यक्रममा लागि ८२ करोड बजेट विनियोजन भएको छ ।
२०८१ मंसिरमा सुर्खेतमा आयोजना हुन लागेको १० राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि ६० करोड बजेट विनियोजन भएको छ । साथै, १० औँ खेलकुदलाई लक्षित गरी कर्णालीमा खेलकुद पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइने जनाइएको छ । भूकम्पबाट पुगेको क्षतिको सर्वेक्षण गरी सुरक्षित भौतिक पूर्वाधार पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ ।
पूर्वाधार विकासमा ठोस योजना आएन : सांसद भण्डारी
कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले संघिय सरकारको वार्षिक कार्यक्रममा पूर्वाधार विकासका लागि ठोस योजनाहरु आउन नसकेको टिप्पणी गरे । प्रस्तुत बजेट तथा कार्यक्रमको प्रतिकृया दिदैै उनले केही महत्वकांक्षी योजनाहरु समेटिए पनि ठोस् योजना नआएको बताए ।
पुराना अधिकांश योजना पुनः ल्याइएको तर, ती योजना अहिलेसम्म बजेट अनुसार कार्यान्वयनमा आउन नसकेको बताउँदै यस पटक समेटिएका योजना पनि कार्यान्वयनमा हुनेमा आशंका व्यक्त गरे । उनले पर्यटकीय विकासमा कर्णालीलाई लक्षित नगरिनु, सुर्खेत विमानस्थल विस्तारको बारेमा प्रष्ट उल्लेख नगर्नु, भेरी र कर्णाली कोरिडोर निर्माण कार्यको उचित सम्बोधन नहुनु कर्णाली प्रतिको दृष्टिकोण कमजोर रहेको प्रतिकृया दिए ।
कार्यशैलीमा भरपर्ने कुरा छ : ढकाल
नागरिक समाजका अगुवा एवम् मध्यपश्चिम विश्वविद्यालय मानविकी संकायका पूर्व डिन पिताम्बर ढकालले सरकारको बजेट तथा कार्यक्रम कार्यान्वयनको शैलीमा भरपर्ने बताएका छन । अर्थमन्त्री पुनले प्रस्तुत गरेको बजेट तथा कार्यक्रमको प्रतिकृया दिदै उनले यी कार्यक्रम कति ठिक हुन् भन्ने विषय कार्यशैलीमा भरपर्ने बताए ।
उनले भागबण्डमा आधारित वितरणमुखी योजना बन्नेहुँदा कर्णाली पछाडी परेको बताए । कर्णालीको प्रमुख आवश्यकताको रुपमा रहेको कर्णाली र भेरी कोरिडोर अहिलेसम्म बन्न नसकेको उल्लेख गरे । यी कोरिडोरका लागि ठोस योजना आउनुपर्नेमा अहिले पनि आलटाल पार्ने किसिमले प्रस्तुत गरिएको टिप्पणी गरे । उनले प्रदेश राजधानी वीरेन्द्रनगरलाई नै जीरो प्वइन्ट मानेर काम सुरु गर्दा सडक पूर्वाधार र सामान ढुवानीका हिसाबले समेत सहज हुने बताए ।
बजेटमा अहिले पनि पछाडी पार्न खोजिएको महसुस भयो : अध्यक्ष कँडेल
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले कर्णाली प्रदेशलाई अहिले पनि पछाडी पार्न खोजिएको महसुस भएको बताएका छन । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको वार्षिक कार्यक्रमबारे प्रतिकृया दिदै अध्यक्ष कँडेलले कर्णालीको पर्यटकीय क्षेत्रमा सरकारको ध्यान पुग्न नसकेको भन्दै पछाडी पारिएको बताएका हुन ।
उनले केही कार्यक्रमहरु सकारात्मक देखिएपनि कर्णालीको आम्दानीको स्रोत बढाउनेतर्फ थोरैमात्र विषयवस्तु समेटिएको बताए । कर्णालीलाई जडिबुटी हव बनाउने, जुम्लालाई मार्सी कोरिडोर र सल्यानलाई कृषि कोरिडोर बनाउने विषय भने प्रसंशनीय रहेको बताए । यस्तै, उनले सुर्खेत विमानस्थलको विषय भने प्रष्ट नभएको प्रतिकृया दिए । सुर्खेत विमानस्थल विस्तारको माग गरिरहेको बेला स्तरोन्नती मात्रै भनिएकाले विस्तार हुनेप्रति आशंका गरे ।