काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८१र८२ को बजेट आज संघीय संसदमा प्रस्तुत गर्दैछ ।
संविधानमा जेठ १५ भित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसक्नुपर्ने प्रावधान छ । सोही व्यवस्थाअनुसार सरकारले आज बजेट सार्वजनिक गर्न लागेको हो । अर्थमन्त्री वर्षमान पुनले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।
आगामी आर्थिक वर्षको बजेट १९ खर्ब हाराहारी आउने बताइएको छ । अर्थविदहरूले बजेटको आकार घटाएर यथार्थवादी ल्याउन भने पनि सरकारले महत्त्वकांक्षी पपुलिस्ट बजेट ल्याउने तयारी गरेको हो ।
कांग्रेसले के गर्ला ?
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध कायम गरेको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको कांग्रेसले त्यसमाथिको छलफलमा भाग नलिई संसद् अवरोध जारी गरेको थियो । यद्यपि, संसद अवरोधकै बीच सरकारले नीति तथा कार्यक्रम भने पारित गरेको छ । कांग्रेसले सदनको अवरोध जारी राखेकाले आज प्रस्तुत हुने बजेट के हुन्छ भन्ने चासो सर्वत्र देखिएको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यसबारे छलफल गर्न पार्टी संसदीय दलको बैठक बोलाइएको र त्यसैको निर्णयअनुसार पार्टी अघि बढ्ने बताए । यसैबीच, नेपाली कांग्रेससहितका प्रतिपक्ष दलका नेताहरूको बैठक बजेट अगाडि बस्दैछ । बजेटसम्बन्धमा साझा धारणा तय गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाइएको हो ।