काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन् । आज बसेको बैठकबाट उनले मत प्राप्त गरेका हुन् ।
विश्वासको मत दिने प्रयोजनका लागि संसदमा उपस्थित संख्या २६८ रहेको थियो । त्यसमध्ये विश्वास छ भन्ने प्रस्तावको पक्षमा १५७ मत र विपक्षमा ११० मत खसेको थियो । यस्तै, मत दिन्न भन्ने पक्ष (तटस्थ)मा एक मत खसेको थियो ।
प्रधानमन्त्रीले संविधानको १०० को उपधारा २ बमोजिम विश्वासको मत लिएका हुन् ।
कांग्रेस, जनमत, लोसपा, राष्ट्रिय जनमोर्चा प्रधानमन्त्री दाहालको विपक्षमा उभिए ।
२०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि दाहाल नेतृत्वमा २०७९ पुस १० मा सरकार गठन भएको थियो । एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरू संलग्न सरकारको नेतृत्व गर्दै दाहालले पहिलोपटक प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिएका थिए । त्यतिबेला कांग्रेसलेसमेतले बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ सांसदले मत दिएका थिए ।
राष्ट्रपति निर्वाचनसँगै दाहालले २०७९ फागुन दोस्रो साता एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सत्तायात्रा सुरु गरेका थिए ।
एमालेसँगको गठबन्धन तोडिएपछि दाहालले दोस्रोपटक २०७९ चैत ६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । दोस्रो पटक विश्वासको मत लिँदा दाहालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायत उभिएका थिए ।
दोस्रो पटक उपस्थित २६२ सांसदमध्ये १७२ सांसदले पक्षमा भोट हालेका थिए ।
गत फागुन २१ गते कांग्रेससँगको गठबन्धन भत्केपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिएका हुन् ।