सुर्खेत । सबै नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने संवैधानिक अधिकार छ । तर, शारिरिक तथा मानसिक स्वास्थ्य अवस्था कमजोर भएकै कारण समाजमा विभेद हुने गरेको छ । उनिहरु आफैमा रोगबाट ग्रसित छन् त्यसैमाथी समाजले गर्ने व्यवहारले अझ पीडा थप्ने गरिदिएको छ । कर्णालीमा कुष्ठरोग निवारण हुने अवस्था छ तर, अहिले पनि प्रभावित व्यक्तिहरु भने सामाजिक विभेदमा परिरहेको उनिहरु बताउछन् ।
कुष्ठरोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो । समाजमा कुष्ठरोग प्रतिको पुरानो धारणामा अझै पूर्णरुपमा परिवर्तन आउन सकेको छैन । अझै पनि कुष्ठरोगलाई महारोग, उपचार हुन नसक्ने र अत्यन्त छिटो सर्ने प्रकृतिको संक्रामक रोगको रुपमा लिने गरिन्छ । तर, कुष्ठरोग अत्यन्त कम सर्ने र अन्य रोगहरू जस्तै सजिलै उपचार हुन सक्ने चिकित्सकहरुको तर्क छ ।
अवस्थामा सुधार आए पनि कुष्ठरोगका बिरामीले भोग्दै आएको विभेदमा कमी नभएको सुर्खेतको वीरेन्द्रनग नगरपालिका –१२ का श्रीमहताराले बताए । उनले सहरभन्दा दुर्गम र ग्रामीण क्षेत्रमा कुष्ठरोग प्रभावितले निकै अपमान र विभेद भोग्नु परेको जानकारी दिए ।
वीरेन्द्रनगर नगरपालिका–७ का धनबहादुर सुनारले ग्रामीण क्षेत्रमा अझै पनि कुष्ठरोगका बिरामीलाई ओढार, बारीको डिलमा राख्ने र घरअगाडिबाट हिँड्न नदिने गरिएको बताए । कुष्ठरोग कल्याण समाजका कोषाध्यक्षसमेत रहेका सुनारले उपचारबाट कुष्ठरोग निको हुने भएकाले बिरामीलाई विभेद नगर्न आग्रह गरेका छन् ।
चालु आर्थिक वर्षको छ महिनामा कर्णालीमा कुष्ठरोगका २४ जना नयाँ बिरामी फेला परेका छन् । सुर्खेतस्थित साइनिङ अस्पताल आइएनएफमा आएकामध्ये २४ जना नयाँ बिरामी फेला परेका हुन् ।
नयाँ बिरामीमध्ये सुर्खेतका सात जना छन् । दैलेख र जाजरकोटका तीन÷तीन, सल्यानका दुई, कालीकोटका एक, बाँके र अछामका एक/एक तथा बर्दिया र रुपन्देहीका दुई÷दुई जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् ।
साइनिङ अस्पताल आइएनएफ सुर्खेतका कुष्ठरोग इन्चार्ज उदयनाथ योगीका अनुसार नयाँ बिरामी फेला परेपछि उपचारका लागि सम्बन्धित स्थानका स्वास्थ्य संस्थामा पठाइएको र जटिल खालकालाई मात्र साइनिङ अस्पतालमा राखेर उपचार गरिएको छ ।
चालु आवको छ महिनामा साइनिङ अस्पतालमा भर्ना भई ३३ जनाले उपचार सेवा लिएका थिए । अस्पतालमा जटिल र गम्भीर प्रकृतिका बिरामी मात्रै उपचारमा राख्ने गरिएको छ । अघिल्लो वर्ष ४३ जना नयाँ बिरामी फेला परेका थिए । अहिले छ महिनामै २४ जना नयाँ फेला परेपछि यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ बिरामी फेला पर्ने अनुमान गरिएको थियो । अघिल्लो पटक कुष्ठरोगका १२ जना नयाँ फेला परेका बिरामीमध्ये धेरै जसो सुर्खेतकै थिए ।
त्यसपछि दैलेख र जाजरकोटका सात/सात, जुम्ला र कालीकोटका तीन/तीन, रुकुमपश्चिमका दुई तथा सल्यान, हुम्ला, डोल्पाका एक/एक र अन्य प्रदेशका छ जना नयाँ बिरामी फेला परेका थिए । अघिल्लो वर्ष अस्पतालमा ६६ जनाले भर्ना भएर उपचार सेवा लिएका थिए ।
कर्णाली कुष्ठरोग निवारणको अवस्थामा छ । प्रति १० हजार जनसंख्यामा एक जनाभन्दा कम बिरामी देखिनुलाई निवारणको अवस्था मान्ने गरिएको छ । कर्णालीका सबै १० जिल्लाको अवस्थामा प्रति १० हजारमा एक जनाभन्दा कम बिरामी रहेका पाइएको छ । अस्पतालमा अहिले चार बिरामी उपचाररत छन् ।
यी हुन् कुष्ठरोगका लक्षणहरु
शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु शुरूको चिह्न हो । यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका चिह्नहरू हुन् । अन्त्यमा अपाङ्गता हुन सक्छ ।
स्नायुमा असर पर्न जाँदा हात खुट्टाहरू लगातार झम–झम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु आदि लक्षण भेटिएमा कुष्ठरोग हो कि भनि शंका गर्न सकिन्छ ।