काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेताले देश बेच्न खोजेको आरोप लगाएका छन्। बुधबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो आरोप लागएका हुन्।
उनले लेखेका छन्, १७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो। कसैको अपमान गरेको होइन। नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नुभो, तर काठमाडौं महानगर बिक्रीमा छैन। तपाईंहरूले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो जुटेरेसको नेपाल भ्रमणका क्रममा मेयर साहको कतै पनि उपस्थिति नदेखिएपछि उनको आलोचना भइरहेको छ। उनले सोही आलोचनाप्रति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।