सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको बुधबारदेखि सुरु भएको अधिवेशनले आज पाचौं दिनसम्म पनि नेतृत्व चयन गर्न सकेको छैन । नेताहरुबीचको सहमति जुट्न नसकेपछि शुक्रबार निर्वाचन प्रक्रिया सुरु भयो । निर्वाचन कार्यतालिका अनुसार शनिबार मध्यान्ह १२ बजेबाट मतदान सुरु हुने समयावधि तोकिएको थियो । तर, आईतबार विहान ९ बजेसम्म पनि मतदान सुरु हुने सङ्केत देखिएको छैन ।
निर्वाचन कार्यतालिकामा शनिबार विहान ८ बजेसम्म उम्मेदवारको मनोनयन फिर्ता लिने समय निर्धारण भएको थियो । तर, दिउँसो २ बजेसम्म पनि मनोनयन फिर्ता लिने क्रम चलिरह्यो । नेताहरुले निर्वाचन कमिटीलाई दवावमा राखेर सहमतिको प्रयास गरेका थिए । उनिहरुले सकेसम्म सर्वसहत नभए सिमित प्रतिस्पर्धा गराउने प्रयासका कारण पनि ढिलाई भएको थियो ।
बेलुका ५ बजेमात्रै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भयो । उम्मेदवारहरुको भने ३ बजेदेखि नै नाराबाजी सहितको प्रचार–प्रसार चलिरहेको थियो ।
बेलुका ८ बजेबाट मतदान सुरु गर्ने भन्दै निर्वाचन कमिटीले मतपत्र छपाईको काम भइरहेको जनायो । शनिबार साँझ ५ बजेदेखि मतपत्र छपाई भएको जानकारी दिने निर्वाचन कमिटी आज आईबार विहान ९ बजेसम्म पनि मतपत्र छपाई भईरहेको बताउछ । यसले गर्दा एमाले अधिवेशन मतपत्र छपाई र मतदान प्रक्रियामै अलमलिएको देखिन्छ ।
मतदानमा ६०४ जना प्रतिनिधीहरु भाग लिदैं छन् । त्यसअनुसार मतपत्र पनि ६०४ नै छपाई हुने देखिन्छ । तर, यति मात्रामा आवश्यक मतपत्र छपाई हुनै एमाले निर्वाचन कमिटीलाई कम्तिमा १६ घण्टा व्यतीत भईसकेको छ । अझै थप कति समय लाग्ने हो टुङ्गो छैन ।
निर्धारित समयमा मतदान सुरु नहुँदा कार्यकर्तामा असन्तुष्टी बढेको छ । उनिहरुले निर्वाचन कमिटीको कार्यक्षमता माथी नै प्रश्न उठाएका छन् । ‘पार्टीले अधिवेशन सम्पन्न गराउन निर्वाचन कमिटीलाई जिम्मेवारी सुम्पिएको छ । उनिहरुले आफ्नो समयतालिका अनुसार काम गर्नुपर्ने होनी । यसरी हेर्दा उनिहरु पनि नेताहरुको स्वार्थ बमोजिम चलेको बुझिन्छ ।’ एक प्रतिनिधीले भने, ‘निर्वाचन कमिटीको असक्षमता हो भन्ने पुष्टी हुन्छ । यो निर्वाचन निश्पक्ष हुनेमा पनि सङ्का गर्न सकिन्छ ।’