सुर्खेत । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मध्यप्रदेशका अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अमित रहेका छन् ।
जहाजबाट काठमाडौँ जाने तयारीमा रहेका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनले भने,‘ भिभो, अपो, रेडमी, सामसुङ लगायतका कम्पनीको मोबाइल प्रहरीले बरामद गरेकाे छ ।’
उनीहरुले सेकेन्ड हेण्ड मोबाइल बनाउन काठमाडौँ जान लागेको जिकिर गरेका छन् तर प्रहरीले चोरीको मोबाइल काठमाडौँमा बेच्न लैजान लागेको शङ्का गरेको छ । उनीहरु सबैलाई भन्सार पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।