सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको महसुस भएको बताएका छन्।
बुधबार आयोजित सविधान दिवस मूल समारोहमा बोल्दै उनले निर्वाचन प्रणालि खर्चिलो हुँदै गएको भन्दै यसलाई परिवर्तन गर्न आवश्यक भएको औँल्याए।
‘संविधान कार्यान्वयन हुँदै जाँदा केही अपुगताको अनुभूति भएको छ। निर्वाचन प्रणालि महंगो हुनु, सवैधानिक अंग हरु, असन्तुलन, प्रतिनिधि सभा विघटन लगायतका कारण हुन।’ उनले भने, ‘निर्वाचन प्रणाली त्रुटिपूर्ण छ। महंगो हुँदै गएको छ। प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको अनुभूति भएको छ।’
मुख्यमन्त्री शर्माले संविधान धर्मग्रन्थ नभएको टिप्पणी गरे। प्राप्त सविधान, धर्मनिरपेक्षता, समावेशिता र दर्जनौं मौलिक हक अधिकारलाई थप सुदृढीकरणको लागि एकताबद्ध हुन आवश्यक रहेको बताए।
उनले नयाँ खालको संघर्षको जरुरी रहेको औँल्याए। राष्ट्रिय एकता, स्वाभिमान र आत्मनिर्भरताका साथ एकीकृत संकल्प गर्न आवश्यक रहेको बताए।
‘दलगत र व्यक्तिगत स्वार्थमा होइन यी कुरा नेपाली जनताले राम्रोसँग बुझेका छन्।’ उनले भने, ‘त्याग गर्ने थोरै भएपनि उपभोग गर्ने धेरै छन्।’
पञ्चायतमा बोल्न, लेख्न नपाएको कुरा स्मरण गर्दै आफ्ना हक, अधिकारको कुरा खुला रूपमा राख्न पाउनु नै उपलब्धि भएको बताए।
साथै, मुख्यमन्त्री शर्माले राष्ट्रको अहितमा जो हुन्छ उनीहरूलाई लगाउने लौरोको रूपमा सविधान भएको टिप्पणी गरे।