काठमाडौं । संसद सचिवालयले भदौ १० गते हुने प्रतिनिधिसभाका १० वटा समितिको सभापति निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ।
सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार भदौ १० गते बिहान ११ बजेदेखि ४ बजेसम्म प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचन गरियोस् भनी कुनै अर्को एक सदस्यको समर्थनसहित प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७६ को उपनियम (२) बमोजिम प्रस्ताव दर्ता गराउनु पर्नेछ।
निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सोही दिन बेलुका ४:३० बजे सूची प्रकाशित गरिनेछ। cयसैगरी भदौ ११ गते दिउँसो ३ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने,समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने निर्वाचनको कार्यक्रममा उल्लेख छ।
जुन उम्मेदवारको पक्षमा बहुमत पुग्छ त्यसलाई नै विजयी घोषणा गरिनेछ। सभापतिमा एक मात्र उम्मेदवारी परे निर्विरोध घोषणा गरिने व्यवस्था नियमावलीमा छ।
एकभन्दा बढी समितिमा पदेन सदस्य रहेका प्रधानमन्त्री र मन्त्रीहरूले आफू कुन समितिको मतदानमा सहभागी हुने हो यसबारे भदौ १० गतेभित्र लिखितरुपमा सभामुखलाई जानकारी गराउनुपर्नेछ।
तर,प्रतिनिधि सभाको सदस्य नरहेको पदेन सदस्यले उक्त निर्वाचनमा मत दिन पाउने छैन।