सुर्खेत । नेपालको राष्ट्रिय झण्डा जहाँतँही प्रयोग गर्न मिल्दैन । संविधानको धारा ८ मा राष्ट्रिय झण्डा सम्बन्धि आकार र प्रयोग सम्बन्धि उल्लेख छ । यसलाई थप व्यवस्थि तगर्न ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग सम्बनधी कार्यविधि, (प्रथम संशोधन समेत) २०६९’ लागू गरिएको छ । तर, राष्ट्रिय झण्डालाई भावनात्मक संवेदनासँग जोडेर मनलाग्दी प्रयोग गरेको पाइन्छ ।
राष्ट्रिय झण्डाको आकार कस्तो हुन्छ, प्रयोग कसरी गर्नुपर्छ?
नेपालको संविधान, २०७२ को धारा ८ मा उल्लेख भए बमोजिम राष्ट्रिय झण्डा सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा हो ।
संबैधानिक निकाय तथा सरकारी कार्यालयहरुले प्रयोग गर्ने झण्डाको आकार ८X६ फिट हुनुपर्छ । नेपाल सरकारको पुर्ण वा आंशिक स्वामित्वमा रहेका संघ वा संस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ६ X ४ फिट हुनुपर्दछ ।
संबैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैर सरकारी संघसंस्था तथा नेपाली नागरिकले व्यक्तिगत रुपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ४ X३ फिट हुनुपर्दछ भने संबैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार ३० X२० सेन्टिमिटर हुनुपर्दछ ।
नेपाली नागरिकले राष्ट्रिय उत्सव/महोत्सवहरुमा ३०X२० सेन्टिमिटर आकारको झण्डा हात हातमा लिएर हिड्न सक्नेछन् । राष्ट्रिय पर्व, राष्ट्रप्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाहरुको सवारीका बखत तोकिए बमोजिमको सडकको दायाँ बायाँ र चोकमा फहराइने झण्डाको आकार ३ X २.५ फिट हुनुपर्दछ ।
सम्मानका लागि शवमा ओढाइन्छ
झण्डा राष्ट्रिय झण्डा वा पार्टीको झण्डालाई मृत व्यक्तिको सम्मानका लागि ओढाउने प्रचलन स्थापित छ । राष्ट्रिय योगदान पु¥याएको उच्च पदस्थ व्यक्तिलाई राष्ट्रिय झण्डा ओढाउने गरिएको छ ।
यस्तै, राजनीतिक दलहरुले पार्टीका क्रियाशिल सदस्यहरुको सम्मानका लागि झण्डा ओढाउने गर्छन् । उनिहरुले दलका निकटस्थ व्यक्तित्वहरुको निधनपछि श्रद्धाञ्जली सभा गरी झण्डा ओढाउने गरेका हुन् ।
‘पार्टीप्रति पु¥याएको योगदानको कदर गर्दै त्यस्ता व्यक्तिको निधनपछि गहिरो दुःख व्यक्त गरि पार्टीको आस्थावान, शुभचिन्तकलाई स्थानीय राजनीतिक दलले आवश्यक ठानेर झण्डा ओढाउने प्रचलन छ ।’ कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले भने, ‘श्रद्धा व्यक्त गरेर ओढाएको झण्डा व्यवस्थापनको लागि आ–आफ्नै तरिका अपनाउने गरेको पाइन्छ । कसैले कार्यालयमै पुनः लिएर राख्छन् । कसैले चिहान स्थलतिरै कतै राख्ने गरेका छन् ।’
‘झण्डा मात्रै होइन सिताराम लेखिएको कफन पनि जलाउनु हुँदैन । वाशिष्ठी अन्त्य पद्दती अनुसार जन्मिदा जस्तो नाङ्गै जन्मिएको हुन्छ । त्यसरी नै जलाउनुपर्छ भन्ने धार्मिक मान्यता छ ।’ ज्योतिष पञ्चाङ्गकार खगेन्द्रप्रसाद अधिकारीले भने, ‘राष्ट्रिय झण्डा वा पार्टीका झण्डा कोही कसैको पनि शवमा ओढाईनु राम्रो होइन । विशेष व्यक्तिको निधनमा उसले गरेका कार्यको सम्मान गर्ने अन्य तरिका पनि छन् । तर, झण्डा ओढाईनु देखासिकी गर्नु हो । यदि झण्डा ओढाइयो भने पनि त्यसलाई न जलाउन मिल्छ, न फिर्ता ल्याउन नै मिल्छ । त्यसैले झण्डा नओढाएकै राम्रो ।’