सुर्खेत। राज्यले प्रदान गर्ने सुविधाअन्तर्गतको सामाजिक सुरक्षालाई नगद वितरण गर्ने विषयसँग मात्र केन्द्रित नगर्न सरोकारवालाहरुले जोड दिएका छन्। अहिले सामाजिक सुरक्षा भन्नेवित्तिकै वृद्ध भत्ता, बालवालिकाको पोषण भत्ता लगायतका रकमलाई मात्र बुझिने हुनाले यसलाई सुरक्षाका अरु आयामसँग जोडेर अगाडि बढ्नुपर्ने सरोकारवालाहरु बताउँछन्।
बालसंवेदनशिल सामाजिक सुरक्षाको अवस्थाका बारेमा सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल (एसपीसीएसएन) ले सोमबार आयोजना गरेको एक कार्यक्रममा सहभागी सरोकारवालाहरुले सामाजिक सुरक्षाबाट सबै लक्षित नागरिक लाभान्वित हुनुपर्नेमा जोड दिए।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले सामाजिक सुरक्षा वितरणमुखी मात्र भएकोले निश्चित रोजगारमा पनि वृद्धि गर्दै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूती गराउनुपर्ने बताए।
कर्णाली प्रदेश सभाका सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले यो क्षेत्रमा काम गर्ने सामाजिक संघसंस्थाले बजेट खर्च गर्ने उद्देश्यले मात्र काम नगरी तीनै तहका सरकारसँग समन्वय गरी प्रभावकारीता दर्शाउनुपर्ने बताईन्।
‘पैसा वितरण गरेर मात्र सामाजिक सुरक्षा हुन सक्दैन, हाम्रो आम बुझाई भनेको सामाजिक सुरक्षा भन्नेवित्तिकै कति पैसा दिने भन्ने हुन्छ,’ वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारीले भनिन्, ‘सामाजिक दायित्व पूरा गर्नेक्रममा राज्यको लक्षित सबैमा पुगेको छ की छैन भन्ने पाि ख्याल गर्नु जरुरी छ।’ पैसासँग मात्र नभएर सुरक्षाका विविध आयामसँग जोडेर सामाजिक सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने उनको भनाई छ। एउटा बच्चाले म घरदेखि विद्यालयसम्म सुरक्षित छु भन्ने महसुश गर्नेगरि सामाजिक सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने भण्डारीले बताईन्।
सामाजिक सुरक्षाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनका टेक्निकल म्यानेजर ऋषिकेश ढकालले दुर्गम क्षेत्रमा घटना दर्ता र सामाजिक सुरक्षा रकम वितरण गर्न समस्या भएको बताए।