सुर्खेत। सोमबार निजामती कर्मचारीहरुले सुर्खेतका विभिन्न कार्यालयहरुमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्। नेपाल निजामती सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै गरिएको देशव्यापी विरोध कार्यक्रमअन्तर्गत सुर्खेतमा पनि कार्यालय अगाडि मागसहितको कालो व्यानर राख्ने र कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरेका छन्।
निजामती क्षेत्रका ५ वटा संगठनहरु नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेसी कर्मचारी मञ्चले सरकारविरुद्ध विरोधका कार्यक्रम घोषणा गरेका थिए। निजामती सेवा ऐन जारी गर्नुपर्ने माग राखेर विगतदेखि नै कर्मचारीहरुले विरोध गरिरहेका छन्।
विरोधका थप कार्यक्रम नआउञ्जेलसम्मका लागि हातमा कालोपट्टी बाँधेर काम गरिने नेपाल निजामती कर्मचारी युनियन सुर्खेतका अध्यक्ष गणेश थापाले जानकारी दिए।