सुर्खेत। कर्णाली प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पाश्रिमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा पदाधिकारी र सदस्यको लागि विभिन्न सेवासुविधा तोकिएको छ। उल्लेखित सेवासुविधामध्ये वैठक बसेको दिनको भैठक भत्ता र यातायात खर्च पनि पर्छन्।
विधेयकमा वैठक भत्ता दैनिक ७५० (वैठक बसेको दिन) दिने उल्लेख छ। अहिले यो बढेर १ हजार पुगिसकेको छ।
यसका अतिरिक्त वैठक बसेको दिन प्रदेश सभाका सदस्यहरुले यातायात खर्चवापत् ५०० रुपैयाँ पनि पाउने विधेयकमा उल्लेख छ।
तर कर्णाली प्रदेश सभा सचिवालयले ‘सांसदहरुलाई ओसार्ने प्रयोजन’का लागि गाडी पनि किन्दै छ। यसका लागि बजेट स्वीकृत भईसकेको छ। हाईस किन्नका लागि ८५ लाख रुपैयाँ स्वीकृत गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
‘गाडी किन्न रकम स्वीकृत भएको छ, स्वीकृत भएको रकमले पुग्ने/नपुग्ने पछि थाह होला,’ कर्णाली प्रदेश सभा सचिव जीवराज बुढाथोकीले भने, ‘अब सम्बन्धित मन्त्रालयबाट रकम खर्च गर्न अख्तियारी आउन बाँकी छ।’
वैठक बसेको दिनमा वैठकको बाहेक छुट्टै यातायात खर्चको व्यवस्था हुँदाहुँदै यातायात प्रयोजनकै लागि हाईस किन्दा सांसदलाई एकै शिर्षकमा दोहोरो सुविधा जान्छ की जाँदैन त? प्रदेश सभा सचिव बुढाथोकी भन्छन्, ‘पाँच सय रुपैयाँ त अटो चढ्न वा कुनै सवारी साधनमा सभामा आउन लाग्ने खर्च हो, गाडी किनेपछि त्यसलाई पुनःबिचार गर्न सकिन्छ।’
बर्षात्को समय, यातायात बन्द भएको समयमा सांसदलाई दिईने यातायात खर्च मात्र व्यावहारिक नदेखिएकोले प्रदेश सभाले गाडी किन्ने निर्णय गरेको पनि उनले बताए। प्रदेश सभासम्म ल्याउन र पुर्याउनुका अलावा अरु प्रयोजनका लागि पनि गाडी प्रयोग गर्न सकिने उनले बताए।
‘उहाँहरुलाई प्रदेश सभामा ल्याउने प्रयोजनका लागि मात्र नभएर अरु कुनै अवलोकन भ्रमण जस्ता महत्वपूर्ण काममा लैजान पनि आफ्नो गाडी भयो भने सहज हुन्छ,’ बुढाथोकीले भने, ‘पदाधिकारीसँग मात्र गाडी हुन्छन्, सांसदसँग हुँदैन। सांसदलाई टाढा अवलोकन वा भ्रमणमा जानुप¥यो भने भाडामा लिनुभन्दा त आफ्नै गाडी प्रयोग गर्न सकिन्छ भन्ने हो।’
यसलाई कतिपयको बुझाई प्रदेश सभाको फजुल खर्च हो की भन्ने भएकाले स्पष्ट हुनुपर्ने उनी बताउँछन्। गाडी किनेपछि यातायात खर्चवापत दिईने रकम दोहोरो पर्ने अवस्था आयो भने यसलाई छलफल गरी अगाडि जान सकिने उनको भनाई छ।
अहिले सांसदलाई संसद चलको दिनमा दिईने यातायात खर्चका बारेमा सचिव बुढाथोकीले भने, ‘यसमा की यातायात खर्च बढाउनुपर्यो, या त यातायात खर्च घटाएर गाडी किन्नुप¥यो। यसलाई छलफल गरी अगाडि बढाउने कुरा आउला।’
तर सचिव बुढाथोकीले भनेजस्तो यातायात खर्च घटाएर मात्र आफ्नै गाडीमा सांसदलाई ओहोरदोहोर गराउन भने मिल्दैन। एउटै शिर्षक वा उद्देश्यमा दोहोरो सुविधा लिन दिन कानुनी प्रावधानअनुसार गाडी किनेपछि यातायात खर्च नै कटौती गर्नुपर्ने हुन्छ।