नविन शाही, सुर्खेत । कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा सुदुरपश्चिम प्रदेशका केही जिल्लाको बजेट पनि समेटिएको छ । कर्णालीको बजेट प्रकाशन गरिएको रातो कितावमा सुदुरपश्चिमका जिल्ला समेटिएको पाइएको हो ।
बजेट कितावमा सुदुरपश्चिम प्रदेशका बझाङ, दार्चुला र बैतडी जिल्ला समेटिएका छन् । यी जिल्लाहरुका लागि एक करोड ३० लाख बजेट विनियोजन भएको छ ।
कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले वेवसाइटमा रातो किताव पिडिएफ राखिएको छ । उक्त रातो कितावको पेज नम्बर २४९ र २५० मा बजेट समावेश गरिएको हो ।
जलस्रोत तथा उर्जा विकास मन्त्रालय अन्र्तगत नयाँ प्रविधिमा आधारित नदि नियन्त्रण कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।
सुदुरपश्चिमका ३ जिल्लाका लागि तटबन्ध तथा बाँध निर्माण गर्न ९ योजना छनोट गरिएको छ । न्यूनतम् १० लाख देखि अधिकतम् २० लाखसम्म विनियोजन गरेको बजेटको कुल रकम एक करोड ३० लाख रहेको छ ।
संघिय सरकारबाट प्राप्त सशर्त अनुदान अन्र्तगतको रकम कर्णालीमा आएको कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बताए ।
‘उता (सुदुपश्चिम प्रदेश) पठाउनुपर्ने योजना यता (कर्णाली)मा आएको हो’ मन्त्री विष्टले भने, ‘संघले फिर्ता मागेपछि फिर्ता हामीले यहाँबाट निर्णय गरेर पठाउनुपर्ने हुन्छ । यदि फिर्ता नमागेको अवस्थामा रकमान्तर गरी कार्यान्वयन गर्छौं ।’
मन्त्री विष्टका अनुसार कर्णालीको कुल बजेटसँग अहिले यो बजेटपनि जोडिएको छ ।