दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले आर्थिक वर्ष २०७९⁄०८० को बजेट नगरसभामा पेश गरेको छ । शुक्रबारको ११ औं नगरसभामा उपप्रमुख मनसरा शर्माले ४८ करोड ६९ लाख ९१ हजारको बजेट विनियोजन गरेकी हुन् ।
नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी तथा सरसफाई र कृषिमा आधुनिकीकरण तथा ब्यवसयीकरणलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेको हो ।
उपप्रमुख शर्माका अनुसार नगरपालिकाको आन्तरिक आय चालु आर्थिक वर्षमा २८ लाख मात्र रहेको छ भने आर्थिक वर्ष २०७९⁄०८० को लागि ४० लाख हुने अनुमान गरिएको छ ।
नागरिकको स्वास्थ्य पहुँचमा जोड्न बिन्द्रासैनी स्वस्थ्य चौकीलाई नगर अस्पातालमा स्तरोन्नती गर्न ५० लाख विनियोजन गरेको छ ।
शिक्षाको गुणस्तर विकासका लागि सशर्त अनुदान बाहेक रु २ करोड ६६ लाख विनियोजन गरिएको छ ।
यसैगरी बजेटमा नगरपालिकाले राज्यबाट कुनै सेवा प्रप्त नगरेका ५९ वर्ष देखी ६७ वर्ष उमेर समुहका जेष्ठ नागरिक, अनाथ÷टुहुरा बालवालिकाको लागि आवश्यक सहयोग रकमको लागि ३० लाख वजेट विनियोजन गरेको छ ।
नगरपालिकाले वडास्तरिय योजना तथा कार्यक्रमको लागि वडा नं. १ मा २४ लाख ६० हजार, वडा नं.२ मा २५ लाख २७ हजार, वडा नं. ३ को लागि २३ लाख ३६ हजार, वडा नं. ४ मा २४ लाख ८१ हजार, वडा नं. ५ मा २४ लाख ७३ हजार, वडा नं. ६ मा २५ लाख ८ हजार वडा नं. ७ मा २४ लाख २३ हजार, वडा नं. ८ मा २३ लाख ६ हजार र वडा नं. ९ मा २२ लाख ८० हजार रकम विनियोजन गरेको छ ।
नगरपालिकाले वडामा २ करोड १८ लाख ४ हजार रकम विनियोजन गरेको छ ।
यसैगरी नगरपालिकाले विषयगत शाखा अन्तरगत आधारभूत स्वास्थ्य तथा सरसफाई शाखामा ५० लाख, कृषि विकास कार्यक्रमको लागि ३० लाख, पशु विकास कार्यक्रमको लागि १५ लाख, आधारभूत तथा माध्यामिक शिक्षा संचालन तथा व्यवस्थापन कार्यक्रमको लागि २ करोड ६६ लाख ६७ हजार र महिला तथा वालवालिका विकास कार्यक्रमको लागि २० लाख रकम विनियोजन गरेको छ ।
यस्तै, नगरपालिकाले मजुवा खानेपानीलाई डौसुर सम्म व्यवस्थीत रुपले वितरण गर्नका लागि रु ५० लाख विनियोजन गरेको छ ।
साथै, बजेटमाथिको छलफलको लागि सभा आइतवार विहान ११ बजे नगरसभा बस्ने प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिए ।