गण्डकी । सत्तारूढ पाँच दलीय गठबन्धनले पोखरा महानगरस्तरीय घोषणा पत्र सार्वजनिक गर्न हलभित्र कार्यक्रम गर्ने क्रममा नेपाली कांग्रेसका केही कार्यकर्ताले कार्यक्रम गर्न नदिने भन्दै भित्रै विरोध गरेका छन् ।
गठबन्धनबाट मेयर उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी कास्की अध्यक्ष धनराज आचार्यदेखि कांग्रेस नेता यज्ञबहादुर थापाले विराेध जनाएका हुन् । अवरोध गर्न खोजेका कार्यकर्ता बाहिरिएपछि मात्र निर्धारित समयभन्दा निकै ढिलो घोषणापत्र सार्वजनिक समारोह सुरू भएकाे छ ।
पार्टी प्यालेसको गेट थुनेर कार्यक्रम सुरू गर्न लाग्दा कांग्रेस कार्यकर्ताले ‘कांग्रेस बेच्न पाइँदैन, गठबन्धन चाहिँदैन’ लगायतका नारा लगाएका हुन् ।
पोखरा महानगरमा रहेका ३३ वटै वडामा कांग्रेस र माओवादीले उम्मेदवारी दिएको छ। गठबन्धनमा भाग मिलाउन कांग्रेसले वडा अध्यक्ष छाड्नुपर्ने देखिएकाले विरोधमा नाराबाजी गरेको एक कांग्रेस कार्यकर्ताले बताए।
कांग्रेस कार्यकर्ताले नाराबाजी थाल्नुअघि माओवादीले पनि विज्ञप्ति निकालेर ३३ वटै वडा अध्यक्षका उम्मेदवारलाई चुनाव प्रचारमा खटिन निर्देशन दिएका थिए।