सुर्खेत। ‘कर्णाली उत्सव : कुडा कर्नालीका’को पाँचौँ संस्करण सुर्खेतको बुलबुले उद्यानमा सुरु भएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले उत्सवको उद्घाटन गरेका छन् ।
तीन दिनसम्म संञ्चालन हुने उत्सवमा प्रकोप र पुनर्निमार्ण, समाज, साहित्य र विकास, लोकतन्त्र र सुशासनका विषयमा छलफल हुनेछ । उत्सवमा कर्णालीको रुपान्तरणको लागि गन्थन, मन्थन र चिन्तन हुने आयोजक ऋति फाउण्डेशनले जनाएको छ ।
उद्घाटन सत्रमा बोल्दै प्रदेश प्रमुख परियारले सामाजिक–सांस्कृतिक रुपान्तरणको अवस्थाले समृद्धिको पुष्टी हुने बताए ।
आर्थिक, राजनैतिक र भौतिक विकास निर्माणले मात्र प्रदेश समृद्ध नहुने भन्दै त्यसका लागि सामाजिक–सांस्कृतिक रुपान्तरणको अवस्थामा सुधार ल्याउनुपर्ने बताए । यसले सुशासन, सामाजिक न्याय र समृद्ध कर्णाली प्रदेश भएको पुष्टि गर्ने जिकीर गरे ।विचारको बहसले राजनितिक, आर्थिक र सामाजिक–सांस्कृतिक रुपान्तरणमा गति प्रदान गर्ने विश्वास व्यक्त गरे ।
प्राकृतिक उपहारका रुपमा रहेका कर्णालीका सम्पदालाई विचारमन्थनको माध्यमबाट तीन तहका सरकारको समन्वय र सहकार्यमा अधिकतम सदुपयोग आवश्यक रहेको बताए । यसबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी बिगतदेखी स्थापित भाष्य उल्टायर रोग, भोग र बेरोजगारलाई उन्मुलन गर्न सकिने उनको भनाई थियो ।
उद्घाटन सत्रमा आयोजक शहरको तर्फबाट ‘वीरेन्द्रनगरमा बहसको बहार’ विषयमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले विचारको बहसले कर्णालीमा नयाँ डिस्कोर्स सुरु भएको बताइन् । उनका अनुसार कुराबाट विचार उत्पन्न भएर विचारले विकासको थालनी हुन्छ । कर्णाली सामाजिक न्यायको क्षेत्रमा समेत कर्णाली पछि परेकोले त्यसका लागि पनि बहस आवश्यक रहेको उनले बताइन् ।
‘कर्णालीको विकास, राजनीति, सामाजिक न्यायका कुरामा बहस हुन आवश्यछ छ । कर्णालीमा दुःखका मात्र नभई समृद्धि र सम्भावनाका कुरा हुन् आवश्यक छ । हामीले हाम्रा कुरा भन्न आवयक छ । त्यसका लागि यस्ता बहसको महत्व छ । हामीले हाम्रो विरासतका विषयमा बोल्न आवश्यक छ । यो विचारको बहस राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सुनिन आवश्यक छ,’ उनले भनिन् ।
कर्णाली उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमले २०७६ सालदेखि कर्णालीमा राष्ट्रियस्तरको वहसको कार्यक्रमको आवश्यकता महसुस गरेर शुरु भएको कर्णाली उत्सवको यात्रा अनवरत चलिरहेको बताए । कर्णालीले आफ्नो कुरा आफैं भन्न थालेको र कर्णालीमा विचारको बहस सुरु गरेर देशको चिन्तनसमेत गर्न थालेको उनले बताए ।